काठमाडौं – सरकारले विदेशमा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनात्मक प्रचार स्थगित गरेको छ ।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण युरोपसम्म पुगेपछि सरकारले यो निर्णय लिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले केही समयका लागि भ्रमण वर्षको प्रचार स्थगित गरिएको बताए ।
शनिबार आयोजित बौद्ध चामुण्डा हेरिटेज वाक कार्यक्रममा पर्यटनमन्त्री भट्टराईले भने, ‘जब परिस्थिति अनुकुल हुन्छ, सन्त्रासहरु हट्दै जान्छन्, त्यसपछि हामी सक्रियताका साथ भ्रमण वर्षको प्रवर्द्धनात्मक कार्यक्रम गर्नेछौं ।’
अब देशभित्रकै पर्यटन प्रवृर्द्धनमा जोड दिने उनले बताए । कोरोनाले भ्रमण वर्षमा २० लाख पर्यटक ल्याउने लक्ष्यलाई समेत असर गर्ने देखिएको उनले बताए ।
भ्रमण वर्षको सुरुआतमै चीनमा कोरोना देखिएको थियो । अहिले यो कोरोना संक्रमण मध्यपूर्वी एसिया र युरोप हुँदै अफ्रिकासम्म फैलिएको छ । यसका कारण पर्यटकहरुले अग्रिम रुपमा गरेको होटल तथा प्याकेज बुकिङ समेत रद्ध गरिरहेका छन् । अहिले प्रायः पर्यटकीय क्षेत्रहरुमा विदेशी पर्यटक न्युन संख्यामा मात्रै भेटिन्छन् ।
यस्तो अवस्थामा पर्यटन मन्त्रालयले दुई हप्ताअघि नेपाललाई कोरानामुक्त देशका रुपमा प्रचार गर्ने निर्णय गरेको थियो । तर, त्यसको ब्यापक आलोचना भएपछि सरकार यसबारे मौन बसेको थियो ।
कोरोनाको संक्रमण विभिन्न देशमा फैलिँदै जान थालेपछि सरकारले विभिन्न देशका मेला महोत्सवमा नेपालले भाग नलिने निर्णय गरेको हो । यस्ता प्रचारका सबै कार्यक्रम स्थगित गरेर सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिने भएको छ । अर्थतन्त्रमा असर नपुगोस् भनेर अब आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिन लागेको पर्यटनमन्त्री भट्टराइले बताए ।
कोरोनाकै कारण सन् २0२0 को आईटीबी बर्लिन पनि स्थगित भएको छ । पर्यटनको महाकुम्भ मेला भनेर चिनिने मेला स्थगित भएपछि नेपालले पनि प्रचार प्रसार तत्कालका लागि स्थगित गर्ने निर्णय लिएको हो । जर्मनीको बर्लिनमा हुने यो विश्वको सबैभन्दा ठूलो पर्यटन व्यापार सम्बद्ध मेला हो । यो मेला १० देखि १४ मार्चसम्म् आयोजना गर्ने तय थियो ।
तर, चीनसँगै कोरिया, इरान, इटाली लगायतका देशमा कोरोनाले प्रभाव पर्न थालेपछि विश्वभरनै पर्यटन प्रवर्द्धनभन्दा स्वास्थ्य सतर्कता अपनाउन बढी जोड दिईँदैछ । नेपालमा भने अझै पनि कोरोना भित्रिन नदिन सरकारले प्रभावकारी कदम चालेको छैन ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७