संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले खाना पकाउने ग्यासको बजार अनुगमन गरेको छ । अनुगमनपछि समितिले व्यवसायीहरूलाई बजारमा ग्यास अभाव नगर्न र कृृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने चेतावनी दिएको छ ।
समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले अनुगमनका क्रममा अभाव नरहेको बताए । उपभोक्ताले सहज रूपमा ग्यास पाइरहेको उनको भनाइ छ । उनले भने, ‘कसैले कृत्रिम अभाव सिर्जना गरेको जानकारी पाएमा तत्काल कारबाही गर्छौँ ।’ उनका अनुसार विश्व नै कोरोना भाइरसले आक्रान्त बनेको वेला बजार अनुशासन कायम गर्ने, नागरिक मर्कामा नपरून् र कसैले नाजायज फाइदा नलिऊन् भन्ने अभिप्रायले अनुगमन गरिएको बताए ।
समितिले बुधबार प्रयागपोखरी र कुमारीपाटी क्षेत्रमा ग्यास डिपोहरूको अनुगमन गरेको हो । अनुगमन समितिमा संयोजक खिमराज भुसाल, रेवती ज्ञवाली, विष्णुनाथ शर्मा, विकल श्रेष्ठ, गीता न्यौपानेलगायतका सदस्य सहभागी थिए । उनीहरूले बंगलामुखी ग्यास सप्लायर्स, ओम ग्यास सप्लायर्स, एसबिपी किराना पसल, ओम बाबा इन्टरप्राइजेजलगायत दर्जनभन्दा बढी ग्यास पसलको अनुगमन गरेको हो । समितिले गत शुक्रबारबाटै बजार अनुगमन सुरु गरेको हो ।
अनुगमनका क्रममा समिति दोब्बर मूल्यमा मास्क बेचेको, ग्यास पसलहरू दर्ता नभएको, व्यवसाय नवीकरण नभएको, मूल्य सूची नराखेको, पान र भ्याट नम्बर देखिने स्थानमा नराखेको र खरिद बिल सुरक्षित नराखेकोलगायत कैफियत भेटेको जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३