इलाम – इलाममा कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक सञ्चालमा पोष्ट गर्ने एक युवकलाई शनिबार पक्राउ गरिएको छ । इलामको फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दीप लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाम नगरपालिका–५ बरबोटेमा कोरोना भाइरसका सङ्क्रमित फेला परेको भन्दै लिम्बूले सामाजिक सञ्जालमा पोष्ट गरेर अफवाह फैलाउने काम गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ। शुक्रबार लिम्बूले बिब्ल्याँटेका कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेपछि जिल्लावासीमा आतङ्क मच्चिएको थियो ।
लिम्बूले फेसबुकमा ‘इलामको बिब्ल्याँटेमा एक जना कोरोना सङ्क्रमित फेला, अबचाहिँ बाँच्ने आसै मरिसक्यो’ भनेर पोष्ट गरेका थिए । गलत सूचना सामाजिक सञ्जालमा पोष्ट गरेका कारण स्थानीयवासीमा समेत त्रास पैदा भएको थियो ।
सोही कारण लिम्बूलाई शनिबार जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रण लिई सोधपुछ गरिरहेको बताइएको छ । साथै गलत सूचना सम्प्रेक्षण नगर्न र जिल्लामा हालसम्म यस्ता सङ्क्रमित फेला नपरेको भन्दै ढुक्क भएर लकडाउनको पालना गर्नसमेत जिल्ला प्रहरी कार्यालय इलामले आग्रह गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७