बिबिएस दोश्रो वर्षको परिक्षा चलिरहेकै थियो । मेरो पहिले देखिकै बानी हो, परिक्षा समयभर मोबाइल स्विचअफ गर्ने र बाहिरी ब्यक्तिको सम्पर्कबाट टाढा रहने । घरमा हप्ताको एक पटक फोन पनि प्राय गर्दिन । बरु घरबाटै फोन आइरहन्छ । यो बेला त झन फोन गर्ने कुरै भएन ।
केही दिन अघि मात्र दाइ बिदेशबाट भएको थियो । दाइलाइ एक दिन राखेर अर्को दिन नयाँ बसपार्क सम्म पुर्याएर आएको हुँ । अनि परिक्षा तयारिमा जुटेको हुँ ।
दाइ घर गएको झण्डै एक हप्तामात्र भएको थियो । दाजु बिदेश जाँदा म गाउँकै +२ मा पढ्थेँ । दाइले चार बर्ष बिदेशमा बिताएर आउनुभयो । दाई बिदेश जानुभन्दा अघिको पारिबारिक अवस्था सम्झन्छु । घरमा पेटभरी खानसमेत धौ–धौ थियो । बुबाको कछाड अनि आमाको धोती बर्षदिनमा एक पटक पनि फेरिन मुस्किल पर्थ्यो ।
दाइले पनि अभाबकै बिचमा आई ए पास गर्नुभयो । धेरै ठाउँ जागिरको लागि धाउनुभयो । कसै उपाय नलागेपछी सबै सर्टि्फिकेटका खोस्टाहरु बाकसमा थन्क्याएर हातमा पासपोर्ट बोकेर बिदेसिनु भयो । दाइले बिदेश गएर पसिना बगाएकै कारण मैले आज ब्याचलरसम्म पढ्न सक्ने अवस्था आयो । नत्र म पनि पासपोर्ट बोकेर बिदेसिनुको बिकल्प थिएन । धन्य मेरो दाई !! मेरो दाइ मेरो लागि भगवान समान हुनुहुन्छ ।
एकदिन एकाबिहानै कसैले ढोका ढकढक्यायो । ढोका खोल्नासाथ थाहा भयो पल्लो कोठाको दाइ रहेछ्न ।
तुरुन्त घर फोन गर रे ! तिम्रो घरबाट फोन आएको थियो । तिम्रोमा फोन लागेन रे ।
यति भन्दै दाइ आफ्नो कोठातिर छिरे । मैले तत्काल घरमा फोन लगाएँ । फोन आमाले उठाउनुभयो । लु दाइको बिहे आँटियो तुरुन्त घर आउन पर्यो । असारको अन्तिम साता हतार हतारमा बिहे आँटिएछ । मेरो परीक्षा सकेर बिहे भन्दा अघिल्लो दिनमात्र घर आइपुग्ने खबर सुनाएँ ।
मेरो मनमा नौमती बाजा घन्किन सुरु गरिहाल्यो । मन उडेर घर गैहाल्यो । त्यसैबेला आफू बेहुलो बनेको कल्पना गरेँ । जब म कल्पनामै बेहुलो बनें । तब मेरा अतितहरु कुनै फिल्मको शैलिमा आयो ।
*************************************
जुन बेला म भर्खर +२ पढ्न सुरु गरेको थिएँ । प्रथम श्रेणीमा एस एल सि पास भएकाले छात्रवृत्तिमा पढ्न पाएको थिएँ । धेरै साथिहरु पढ्नकै लागि शहरतिर छिरे तर मेरो गाउँमै पढ्नुको बिकल्प थिएन । भर्खरै त कलेज जीवन सुरु हुँदैथियो । मनमा उमंग त हुने नै भयो । त्यही उल्लास मन भरी लिएर कलेज गएँ ।
बिडम्बना पनि कस्तो अचम्मको, कलेजको पहिलो दिन, चिनेका साथिहरु त एक जना पनि छैनन । सबै शहर छिरे म भने……। मन खिन्न बनाउँदै कलेज छिरेँ । धेरै जसो साथिहरु म जस्तै नयाँ छन । केही साथिहरु परिचित भैसकेजस्तो खास खुस सुरु गरिसकेका छन । म भने कसैको वास्ता गरेको छैन । गर्नु पनि किन ? कोहि चिनेका त छैनन । कक्षाकोठामा छिर्नमात्र के लागेको थिएँ । पछाडिबाट कसैले बोलाएको आवाज आयो ।
सागर ! सागर !
श्रृष्टि ! तिमी पो ?
आठ कक्षा पढ्दादेखिकै साथि हो श्रृष्टि । स्कुले जिवनमा दुबैले खासै वास्ता गरीएन । आज अरु कोहि साथि नभएको बेला मात्र उनको मुखले मेरो नाम उच्चारण गर्यो ।
उनलाई मैले आठ कक्षा देखि नै ख्याल गर्दै आएको थिएँ । उनि कहाँ जान्छिन्, के गर्छिन, कोसँग बोल्छिन्, उनको हरेक कुरामा नजर लगाउँथेँ । सायद उनको शारिरिक बनावट, चन्चले स्वभाब, नम्र बोलिले मलाई आकर्शित गरेको थियो । अझ सिधा भन्नुपर्दा म उनलाई मन पराउँथे ।
गणित शिक्षक आएर सम्भाब्यता पढाउनुहुन्थ्यो । मैले भने उनलाई पाउने सम्भाब्यता कति छ भनेर सोँच्थेँ । सरले सेट पढाएर साझा र बाकी निकाल्नुहुन्यो मैले भने उनका र मिल्ने र नमिल्ने कुराको रेखाचित्र तयार गर्थेँ । अचम्मको थियो मेरो माया । कापिका कति पाना त उनकै नाम लेखेर भरिदिन्थेँ । म त्यतिसम्म उनको मायामा डुबेको थिएँ । तर उनले मेरो वास्ता गर्दिनथिईन् । सायद, म एकतर्फी मायामा डुबेको थिएँ । त्यो पनि फेरी तैरिनै मुस्किल पर्ने गरेर ।
कलेजको पहिलो दिन सामान्य बोलचाल भयो । सँगै भित्र गएर बस्यौँ । धेरै समय पछि भेटेकोले होला मेरो नजरले उनलाई भिन्न, झनै उज्यालि, झनै चहकीली देखेको थियो । तर उनमा एकाएक पहिलेको चन्चलेपन पुरै हटेर गएछ क्यार, मलिन मुद्रामा देखिन्थिन् ।
कक्षामा अरु चिने जानेका कोहि भएनन् । हामीहरु आफ्नै सुरमा आउने जाने गर्न थाल्यौँ । “केहि समय बित्दा नबित्दै हामी घनिस्ठ साथि भयौँ” उनले भन्थिन् तर मैले त जिवनसाथि सम्मकै कल्पना गरीसकेको थिएँ । उनिसँग प्रेमसम्वाद गर्ने साहस म मा थिएन । साथिहरु हाम्रो सामिप्यता देखेर डाह गर्थे । हामिलाई भने त्यस्तो कुराको प्रवाह थिएन ।
एकदिन भ्यालेनटाईन डेको अवसर पारेर क्याम्पसमा प्रेमप्रत्र लेखन प्रतियोगिताको आयोजना गरीयो । सायद, समयले मलाई श्रृष्टिको नजिकसम्म पुग्ने अवसर दिएको हुनुपर्छ । मैले पनि यो अवसर सदुपयोग गर्नुपर्छ भन्ने सोँचेर प्रतियोगितामा भाग लिने निर्णय गरेँ । एकदिन भरी लगाएर श्रृष्टिको नाममा प्रेमपत्र लेखेँ र त्यसलाई अर्कैको नाममात्र फरक गरेर अर्को प्रति वाचनको लागी तयार गरेँ ।
प्रेमदिवसका दिन बिहान कक्षामा पुग्नासाथ यि हेर श्रृष्टि ! मैले त आज प्रतियोगितामा भाग लिन प्रेमपत्र लेखेको छु पढ है भन्दै पत्र थमाईदिएँ र बाहिर निस्किएँ । अब श्रृष्टिबाट कस्तो प्रतिकृया आउला भन्ने कुराले मलाई छटपटी भयो । केहि समयपश्चात कार्यक्रम सुरु भयो । मेरो पालो दोश्रो नम्बरमा आयो । मञ्चमा पुगिसकेपछि चारैतिर नजर डुलाएँ । श्रृष्टि मञ्चको दायाँतर्फ देखा परिन् । उनलाई देख्नासाथ मेरो मनमा साहस थपियो । शरिरमा काँडा उठेर आयो ।
पत्र वाचन सुरु गरेँ । बिचबिचमा गड्गडाहट तालि बज्थ्यो । ममा झन हौसला थपिन्थ्यो । पत्रमा आठ कक्षा पढ्दादेखिको सबै कुरा समेटेको थिएँ । मैले आफ्नै मनको ब्यथा सुनाउँदै थिएँ तर सबैलाई काल्पनिक कथा बनेको थियो । पत्र वाचन सक्नासाथ श्रृष्टिलाई हेरेँ । उनि साथिहरुको बिचमा थिईन् । उनका आँखा भरिएका थिए तर साथिहरुका अघि हाँसेको अभिनय गर्दै थिईन् । उनको आँखामा प्यार टिलपिल टिलपिल थियो । खै कतिबेला छताछुल्ल हुने हो उनको प्यार ठेगान थिएन ।
प्रतियोगितामा म प्रथम भएँ । सम्योग त्यस्तै पर्यो, प्रतियोगितापछि त्यो दिन पढाई भएन । सबै साथिहरु घरतिर लागेछन् । मैले त्यहि मौका छोपेर प्रतियोगितामा पाएको पुरस्कार श्रृष्टिलाई थमाउँदै, कक्षामा भएका चार भित्ताहरु अनि केहि थान डेक्स बेञ्चको रोहबरमा उनलाई प्रेमप्रश्ताव गरेँ । अन्तत उनको आँखामा भरिएको प्रेमसागर छताछुल्ल भयो र पोखिईन् आँखा अगाडीको निर्मल सागरको छत्रछायाँमा ।
जे कुराको आशा गरिएको हुन्छ त्यो कुरा नपाउँदा मान्छे दुखि हुन्छ तर जहाँ अपेक्षा गरीएभन्दा ठुलो उपलब्धि हुन्छ, त्यहाँ खुशिको सिमा रहँदैन । हामी पनि त्यही दिनदेखि प्रेम जोडी भयौ । लैला मज्नु भयौँ, रोमीयो जुलिएट्स भयौ । सिंगो प्रेमसागरको रोहबरमा एउटा छुट्टै प्रेम संसारको श्रृष्टि भयो । हामी पनि “श्रृष्टिसागर” भयौँ ।
त्यसपछिका दिनहरु प्रेममय बन्दै गए । हावा भिन्दै चलेजस्तो, घाम भिन्दै लाएजस्तो । साँच्चै हावा नै फरक चलेको थियो त ? अहँ थिएन , तर हाम्रो मन बेग्लै थियो किनकी दुई मन एक भएको थियो । दिनका दिन भेट हुनु नौलो रहेन । लुकिलुकी फोन, म्यासेज गर्नु पनि नौलो रहेन । दुनियाको आँखा छलेर भेट हुुनु, एकआपसमा मन साटासाट गर्नु नित्यकर्म बन्दै गयो ।
उनका नशालु आँखा हेरेर घण्टौँ बिताउन सक्थेँ । उनको चम्किलो मुहार हेरेर पुरा दिन नै बिताउन सक्थेँ । अझ भनुँ उनलाई हेरेरै मेरो जिन्दगी बिताउन सक्थेँ । उनीपनि मबाट एकैछिन टाढा हुन पर्दा छट्पटाउँथिन् । एक दिन भेट नहुँदा अर्को दिन अंगालो मारेर रुन्थिन् । हामी एक अर्कामा हराउन चाहान्थ्यौँ । समर्पित हुन चाहान्थ्यौँ ।
हाम्रो प्रेम झनै मौँलाउँदै गएकै थियो । त्यसै बिचमा १२ परिक्षा पनि भयो । दिनका दिन भेट हुने बहाना कलेज थियो । त्यो नै सकिएपछी फोनमा कुरा गर्नुको बिकल्प रहेन । बिस्तारै फेसबुकमा पनि कुरा हुन थाल्यो । उनको र मेरो घरको दुरी ठ्याक्कै ३ घण्टा लाग्थ्यो । अनि उनलाई आफ्नै गाउँमा गएर भेट्न गाउँले अनि आफन्तको डर हुन्थ्यो । त्यसैले हप्तामा एक पटक भेट हुन पनि मुस्किल हुँदै गयो ।
केहि महिनामा परिक्षाको नतिजा आयो । म पास भएँ तर श्रृष्टिलाइ भने पास हुन अझै एक बर्ष कुर्नुपर्ने भयो । पास हुनासाथ पढ्न काठमाण्डौ जाने दुबैको सल्लाह माटोमा मिल्यो । पढाइमा ध्यान नदिएर अन्य कुरामा भुलेर फेल भएकी होस भनेर उनका घरमा गाली गर्थे रे! उनले फोन गर्दा सुनाउथिन् । हुन पनि त्यस्तै भयो । उनी पहिले पढाइमा निकै मेहनती थिइन् र नतिजा पनि राम्रो आउथ्यो तर अहिले त्यसो भएन । सबैलाइ भन्ने बाटो खुल्यो ।
मलाई घर परिवारबाट काण्ठमाण्डौ गएर पढ्न दबाब आउन थाल्यो । हुन त त्यो मेरो लागी अवसर थियो । दाई बिदेश नगएको भए, केहि पैसा नकमाएको भए म पनि हातमा राहदानी समाएर खाडि जानुपर्थ्यो । तर त्यस्तो अवसर पाउँदा पनि मन खुशि हुन सकेको थिएन ।
अन्ततः एकदिन एकाबिहानै श्रृष्टिको माया मनभरी बोकेर शहरतिर लागेँ । अघिल्लो दिन श्रृष्टिलाई भेटेको थिएँ । उनले गहभरी पार्दै भनेकी थिईन् । “शहरको रमझममा भुलेर हाम्रो चोखो मायालाई नलत्याउनु, आफ्नो गाउँघर पाखा पखेरालाई नभुल्नु, प्रगतिले शिखर चुम्दै जानु, के गर्नु सँगै शहर जान पढाई बाधक बन्यो । फोन गरीरहनु ।” उनका कुराले आँखामा आँशु थामिएनन् दुबैजना अंगालो मारेर रोयौँ । मनले त्यहि पल सम्झिएर पाईला अघि बढ्न मानेका थिएनन् । जवर्जस्ति शहरको एउटा कुनामा पुगेर आफ्नो दिनाचार्य सुरु गरेँ ।
श्रृष्टिसँगको सामिप्यता, सँगै बिताएका पलहरु नै मेरा दिन बिताउने आधारहरु थिए । मेरो तन मन सबै श्रृष्टिले ओगटेकी थिईन् । जब उनि सम्झनामा आउँथिन् तब मैले सारा कुरा भुलिदिन्थेँ । हराउँथेँ कल्पनामा, पुग्थेँ मायालुको संसारमा र श्रृष्टि गर्थेँ मायाका भब्य महलहरु । जुन संसारमा हुन्थे केवल श्रृष्टि र सागर ।
समय बिस्तारै बित्दै गयो । घर छोडेर हिँडेको नि एक बर्ष पुग्न थाल्यो । मेरो हालत पहिलेको भन्दा कम थिएन । श्रृष्टिको याद सयमा उनान्सय पनि भएकै थिएन । समय एकनास दौडिरहेकै थियो तर त्यहि समयमा चलिरहेको मौसम परिवर्तित थियो । त्यहि मौसमले कहिले हावाहुरी चलाईदिन्थ्यो, कहिले भारी बर्षा त कहिले चट्याङ समेत ।
सँधै चल्ने हावाहुरी चलिरहेकै थियो । कहिलेकाही पर्ने बर्षा परिरहेकै थियो । तर एकदिन हाम्रो सम्बन्धको बिचमा पनि चट्याङ पर्याे । चिराचिरा पारीदियो मेरो कोमल मन । तहसनहस बनाईदियो हाम्रो प्रेम । उनको मन नौनिजस्तो थियो तर एकाएक कसरी चट्टानजस्तो भयो ? मैले मेसो पाउनै सकीन ।
प्रेम छुट्नुको ठुलो कारण पनि केहि थिएन । म शहर छिरेदेखि उनले म प्रति कडा निगरानी राख्न चाहन्थिन । म उनको निगरानी भन्दा टाढा भाग्न त चाहँदिनथेँ तर उनले म माथि गरेका शंकाहरुले अथाह पिडा दिन्थ्यो ।
केहि महिना अघि नै फेसबुक पासवर्ड साटासाट भएको थियो । उनले एक्कासी पासवर्ड चेन्ज गरीन् । लगत्तै मेरो फेसबुकमा भएका केटी साथिहरुलाई तथानाम गाली गर्दै म्यासेज लेखिछन् र मेरो पासवर्ड समेत चेन्ज गरीछन् । मैले थाहा पाएपछि फोनमात्र के गरेको थिएँ । भन्नु नभन्नु भनिन् । मैले सम्झाउन खोजेँ । “फेसबुक ठुलो कुरा होईन, बन्द गरीदिउँला । हामी आआफ्नो ठाउँमा ठिक हुनुपर्छ । सबै ठिक हुन्छ ।” अहँ उनले मेरो कुरा सुन्ने प्रयास नै गरीनन् । मलाई पनि असह्य भयो । त्यसै दिनदेखि हाम्रो जिवनको बाटो अलग भयो । आखिर उनको त्यही शंकाले नै हाम्रो सम्बन्धमा धाँजा फाट्यो ।
मान्छे फरक भएपछि बिचार फरक हुनु स्वभाबिक हो । बिचार फरक भए बिबाद र मनमुटाव हुन्छ नै । त्यही मनमुटाव कसरी कम गर्न सकिन्छ र सम्बन्ध प्रगाढ हुन्छ त्यो कुरामा वास्ता नगर्नु दुबै जनाको कमजोरी हो । केहि दिन त बेहोसी जस्तै भएँ । खाना खाईन । कलेज समेत गईन । धेरै रातहरु नसुतेरै बिताएँ । तर मैले त्यसो गर्दैमा सम्बन्ध पुनः जोडिने कुरा भएन ।
हुन त उनलाई पनि पीडा हुँदो हो । म त केवल अनुमान मात्र गर्न सक्थेँ तर दुखेको घाउमा मल्हम लगाउन उनि आँफैले बाटो बन्द गरेकी थिईन् । अब टुटिसकेको सम्बन्धलाई सम्झिएर पनि कुनै अर्थ रहेन । बिस्तारै टुक्रिएको मन सम्हाल्दै गएँ र समय पढाईमा खर्चिन थालेँ ।
***************
एकदिन दाईले फोन गर्नुभो । म अर्काे महिना घर आउँदैछु । मन गदगद भयो । एकैछिनमा सम्झिहालेँ । मेरो त परिक्षा छ त, मन उतिबेलै दुखि भयो । सम्झेँ, मेरो परिक्षा भएर के भो त । दाईसंगै घर जान नपाएपनि परिक्षा सकेर त गैहाल्छु नि । यो पटक त दाईको बिहे गर्ने कुरा चलेको छ घरमा । दुलाहाको भाई भएर जन्त जाने सौभाग्य मलाई जुर्नेछ । अहो ! कत्ति रमाईलो होला ?? मनमा बाजा बज्न थाल्यो । त्यहि मन नाच्न थाल्यो । कस्तो मेरो मन । म आँफै मुस्कुराएँ ।
दाई बिदेशबाट आउने दिन परिक्षा थियो । परिक्षा सकेर बिमानस्थलसम्म लिन गएँ । दाईलाई देख्नासाथ आँखा भरीयो र छचल्कियो । ति त हर्षका आँशु न थिए, धेरै बेर खसेनन् । दाईलाई अंगालो मारेँ । त्यस दिन दाजुभाई संगै बस्यौँ । भोलिपल्ट बिहान बसपार्कसम्म म पनि गएँ । दाईलाई बस चढाएर म फर्केँ । दाई घरतिर लाग्नुभयो ।
आमाले दाईको बिहे पक्का भैसकेको र छिटो घर आउन भन्नुभएदेखि मन उडेर घर गैहाल्यो । बाँकी देहमात्र काठमाण्डौ थियो । परिक्षा सकेर बिहेको अघिल्लो दिन साँझ घर पुगेँ ।
घरको तामझाम नै फरक थियो । आफन्तको ठुलो घुईचो थियो । घर पुरै ध्वजापतकाले सुसज्जित थियो । घरमा बाजा गितहरु घन्किएकै थियो । यो सब देखेर म तिनछक परेँ । बिबाहको सम्पुर्ण तयारी पुरा भैसकेको थियो । त्यो दिन त रमाईलोमै बित्यो । केवल प्रतिक्षा थियो त बिहेको दिनको ।
आज त बिहेको दिन, जन्ति जानेहरु सबैजना सुटबुटमा तम्तयार भएर निस्किए । जन्ति नजानेहरु रत्यौतिको तयारीमा जुटे । दिदि बहिनीले बेहुला(दाई)लाई श्रृंगार पटार गरीदिए । करिब नौ बजेतिर जन्ति प्रस्थान गर्ने कार्यक्रम थियो । घरमा गरीने केहि बिधि पुरा गरेर निस्कियौँ बेहुली(भाउजू) लिन ।
करीब तिन घण्टाको बाटो हिँडेपछि मात्र रमालि गाउँ पुगिन्थ्यो । घरी सम्झन्थेँ, यदि भाउजू आएपछि पनि मेरो र दाईको सम्बन्ध यस्तै सुमधुर रहला त? मेरो कमाई केहि छैन । यदि भाउजूले दाईको मन परिवर्तन गरीदिईन् भने ?? हैट, मैले के के सोँचेको होला ? यस्तो हुनै सक्दैन । हाम्रो दाई त्यति अज्ञानी कहाँ हुनुहुन्छ र ? दाई त भगवान समान हुनुहुन्छ । आफ्नै मनले जवाफ दिन्थ्यो ।
फेरी सम्झन्थेँ, म पनि दाई जसरी नै बेहुलो बनेर जाने दिन कहिले आउला ? यदि श्रृष्टिसँगको सम्बन्ध नटुटेको भए कुनै दिन यही बाटो बेहुलो बनेर जानेँ थिए र लिएर आउने थिएँ मेरी बेहुलीलाई, मेरी राजकुमारीलाई, मेरी मायालुलाई , तर …… सम्बन्ध टुटिसक्यो जे नहुनुथ्यो त्यही भैसक्यो । अब कल्पना गरेर कुनै अर्थ रहेन । एकाएक चुपचाप हुन्थेँ ।
बेहुलिको घरमा पुग्न थोरैमात्र बाँकी रहँदा दाईले चिनाउनुभयो ।
उ…त्यै चौतारी नेरको घर हो तेरी भाउजूको घर ।
अनि भाउजूले कतिमा पढ्ने हो रे नि दाई ?
अहिले पलस टु पास गरेको रे ।
दाई, भाउजूको नाम के हो नि ?
श्रृष्टि !
मनमा कता–कता चिसो पस्यो । जन्ति बेहुलिकै घरमा आईपुग्यो । केहि समयमै जन्ति पर्सिने बेला भयो । त्यसको ठ्याक्कै पाँच मिनेट पछि स्वयम्बरको समय भयो । दाई अरु जन्तिभन्दा अघि गएर उभिनुभो । बेहुली पक्ष बेहुलो हेर्न भेला भए । त्यसै बखत भाउजू हातमा कमण्डलु लिएर घुम्टोमा सजिएर आउनुभयो । भाउजूको अनुहार हेर्न हतारीएको थिएँ । घुम्टोले पुरै छेकीदियो ।
भाउजूले जलधारा दिँदै दाईलाई तिन फन्को लगाउनुभयो । दाईले स्ययम्बरको औँठि लगाईदिनुभो । माला साटासाट गर्ने बेला भयो । भाउजुले घुम्टो थोरै खोल्नुभयो । जब पुर्लुक्क अनुहारमा मात्र के हेरेको थिएँ । त्यो अनुहार त श्रृष्टिको थियो ।
मलाई तिरीमीरी भयो । एकैपटक पुरै पृथ्बि फनफनी घुम्यो । म अचेत जस्तै भएँ । म मरेँ कि ? आफैलाई शंका लाग्थ्यो । अरु कोहि बोलेको आवाज सुन्थेँ, जिउँदै रहेछु थाहा पाउँथेँ ।
मैले जे कुराको कल्पनासमेत गरेको थिईन । मैले जुन कुरा कहिल्यै देख्न नपरोस् भन्थेँ त्यही दिन मेरा आँखाले देख्नुपर्याे । टाढा हुँदा तँ मरेस् भनेर धारेहात लाएपनि आफ्नै प्रमिका बेहुलीमा सजिएको देख्न नसकिँदो रहेछ । त्यो पनि अझै आफ्नै प्रेमिका आफ्नै भाउजू बनेर मेरै घरमा भित्रिँदैछ । यो कस्तो बिडम्बना ? यो के देख्नुपर्याे मैले ? यो देख्नु पहिले नै म किन मरीन ? मलाई अथाह पीडा भयो, हो मलाई खपिनसक्नु पीडा भयो ।
बिहेको काम धमाधम भयो । त्यहाँ त म मात्रै छटपटिएको थिएँ । अरु सबै त रमाईरहेकै थिए । दाई राम्री दुलहि पाएकोमा मख्ख हुनुहुन्यो । अन्ततः दाईले मेरी भुतपुर्ब प्रेमिकालाई मेरै आँखा अघि सिन्दुर भरीदिनुभयो र आफ्नी दुलही बनाउनुभयो ।
मसँग अरु बिकल्प नै केहि छैन । न त मैले दाईलाई त्याग्न सक्थेँ न त घरपरीवार नै । म त अब चुपचाप बस्नुपर्छ । मेरो मनमा भएका सबै पिडाहरु यथावत राखेर मैले आफ्नी प्रेमिकालाई आजदेखि भाउजू भन्नुपर्नेछ । उनै भाउजूलाई मैले आमा समानकी भाउजू मान्नुपर्नेछ ।
बिहेको केहि दिन पछि दाई भाउजू दुरान गएर आउनुभयो । भाउजूले दाईको अघि माइतीबाट ल्याएको कोशेलि थमाउँदै भन्नुभयो ।
देवर बाबु नमस्कार !
म चुपचाप भएँ ……..
देव सागर
चापकोट, स्याङ्जा
हाल कोरिया
यसै कथामा आधारित एक लघु चलचित्रको पनि निर्माण भएको छ – सम्बन्ध, जसको लिंक तल राखिएको छ ।
https://www.youtube.com/watch?v=9ebpAO5lBqI
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३