काठमाडौं – सवारी पास बनाइहालेँ, अब ढुक्कसँग उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ ? या त अब सवारी पास बनाएर उपत्यका जान्छु भन्ने सोच छ । याद गर्नुहोस् ! पास बनाउँदैमा अब उपत्यका छिर्न पाउनुहुन्न ।
नागढुङ्गा, फरपिङ, मुड्खु, जगाती, जरसिङपौवा या अर्काे कुनै नाकाबाटै फर्कनु पर्ने पनि हुनसक्छ । दुःख मात्रै पाउन सक्ने भएकाले बेलैमा ध्यान पुर्याउनुहोला ! दैनिक उपभोग्य सामग्री र स्वास्थ्य उपचारसम्बन्धी जोडिएका सवारीबाहेक अब उपत्यकामा ‘नो इन्ट्री’ गरिएको छ ।
यसअघि पास बनाएपछि निर्वाधरुपमा सवारी भित्रने गरेको थियो । अब भने पासबाहक गाडीलाई समेत धमाधम फर्काउन थालिएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले पास भएकालाई पनि अब अत्यावश्यकबाहेक प्रवेश रोकिएको बताउनुभयो ।
विभिन्न नाकाबाट अहिले उपत्यका १५ सय हाराहारीमा सवारी भित्रिने गरेका छन् । त्यसमा झण्डै ४०० सवारी पास बोकेर विभिन्न काममा आउने गरेको प्रहरीको अभिलेख छ । दैनिक उपभोग्य सामग्री ल्याउने सवारीसमेत बढेको छ । ती गाडीमा चालक सहचालक गरी दुईदेखि तीनजना आउने गरेका छन् । त्यसरी हेर्दा झण्डै चार हजार हाराहारीमा मानिस दैनिक उपत्यका भित्रिने गरेका छन् ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकाको सीमा नाकामा थप कडाइ थालिएको र सुरक्षात्मक उपायसमेत अपनाउन थालिएको बताउनुभयो । उहाँले वैशाख २५ पछि पनि आवागमनलाई रोक्नै पर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३