प्रेम आफैमा सुन्दर, सृजनशील र अनुभुतीको सर्वोतम पर्यायवाची । जात, धन अनि सामाजिक अनेक मुल्य मन्यताको लेपले छोपिएर प्रेमको स्वरुपमा पनि अन्यौलता देखा पर्न थालेको छ । लेप लागे पनि भित्रि पाटोमा प्रेम, प्रेम नै छ । छ त जरुरत, केवल पहिचान गर्न सक्ने खुबिको ।
पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ मा घटेको शनिबारको घटना पनि त्यहि प्रेममा पोतिएको लेपको स्वरुपमा अलमलिएको घटना मध्यको एक हो । जातको लेपले छोपिएको प्रेमको स्वरुप चिन्न नसकेर घटाइएको एउटा घटना हो । मनको अन्तर्दृष्टि गुमेकाले घटाएको घटना हो ।
हो, नवराज विक तिनै अन्तर्दृष्टि गुमाएका हुंडरीले मच्चाएको भुमरीमा परेर प्रेम युद्धमा मारिएका एक योद्धा हुन् । कथित उपल्लो जातकी प्रेमिकासँगको तीन वर्षदेखि चलिरहेको प्रेम सम्बन्धमा केवल सिन्दुरको घेरो हाल्ने सपनाले गुमेको ज्यान हो उनको ।
तीन वर्षदेखिको उनीहरुको सम्बन्ध दुबैको परिवारलाई थाह नभएको पनि होइन । नवराजकी आमालाई कथित उपल्लो जातकी केटीसँगको सम्बन्धमा पनि कुनै डर थियो, त्यसैले त बारम्बार छोरालाई सम्बन्ध अगाडी नबढाउन सल्लाह दिइरहिन् । उपल्ला जातले आफ्नो कथित समाजिक प्रतिष्ठा जोगाउनै पनि आफ्नो छोरीलाई चेतावनी नदिने त कुरै उठेन । उता छोरालाई दवाव यता छोरीलाई चेतावनी निरन्तर चलिनै रहयो ।
लकडाउन अगावै भाग्ने योजना असफल भयो । फेरी दोस्रो योजना गरियो, प्रेम संगसँगै सिन्दुरको साइनो जोड्ने । माग्न सम्भव रहेन, भाग्न बिकल्प थिएन ।
१८ जना गैरदलित समुदायका युवासहित नवराज चौरजहारी पुगे । पहिले पनि प्रेमिकाको घर पुगेका नवराजलाई प्रेमिकाकी आमाले सजिलै चिनिन् । दलितले केटाले छोरी भगाउन लागेको भन्दै गुहार माग्न थालिन् ।
यो सुनेर गाउले नै उल्टिएर जाजरकोटबाट आएका नवराज र उनका साथीहरुमाथी जाइलागे । करिव १ सय जना गाउलेहरु नै आइलागे पछि उनीहरु ज्यान बचाउन भागे, कोहि नदीमा हाम फाले ।
त्यसपछि पनि गाउलेहरुले त्यसै छोडेनन्, उनीहरुले नदीमा हाम फालेका युवा माथी ढुङ्गा वर्षाउछन् । पहिले नै घाइते भइसकेका युवा अन्तत हार खान्छन् र ज्यान गुमाउछन् । नदीमा हाम फाल्ने ७ जना मध्य भेरी किनारमा नवराज र गणेश बुढा मगरको शव फेला पर्छ ।
अब हाम्रो समाजमा जातीय भेदभाव छैन भनेर मस्त निदाएका कथित अभियान्ताहरुलाई फेरी यस घटनाले बेचैन बनाएको छ । फेरी एउटा प्रेमीले कथित उपल्लो जातकै केटीसँग प्रेम गरेको कारण आफ्नो ज्यान गुमायो । घटना खुब चर्चित बनाइन्छ । समाजलाई ठूलै खवरदारी गरियो भन्दै ढोल पिटिन्छ । समय बित्दै जान्छ अनि फेरी आर्को नवराज विकलाई नदीमा हाम फाल्न बाध्य गराइन्छ , किनारबाट ढुङ्गा वर्षाइन्छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३