काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैङ्कले इटालीको अदालतमा करिब दुई अर्ब १० करोड रुपैयाँ बराबरको भुक्तानीसम्बन्धी मुद्दा जितेेको छ । तनहुँ जलविद्युत आयोजनाका लागि राखिएको कार्यसम्पादन जमानत जफत भएपछि इटालियन बैङ्कले नेपाल इन्भेस्टमेन्ट बैङ्कलाई काउन्टर ग्यारेन्टीबापतको भुक्तानी गर्नुपर्ने अदालतले फैसला गरेको हो ।
यसअघि अदालतको एकल इजलासबाट भएको फैसला उल्ट्याएर तीन जनाको संयुक्त इजलासले नेपाल इन्भेस्टमेन्ट बैङ्कको पक्षमा फैसला सुनाएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले जानकारी दिए ।
तनहुँ हाइड्रोको इटालियन ठेकेदार को-अपरेटिभ मुराटोरी ई केमेन्टिस्टी (सीएमसी)ले स्थानीय अदालत ‘ट्रिबुनाल डी बोलोग्ना’ मा मुद्दा दायर गरेको थियो । सीएमसीले मुद्दा जितेपछि इन्भेस्टमेन्ट बैङ्कलाई काउन्टर ग्यारेन्टीबापत नेपालमा तनहुँ हाइड्रोलाई दिएको करिब दुई अर्ब रुपैयाँ असुलउपर गर्न कठिन भएको थियो ।
तनहुँले ८५ करोड नेपाली रुपैयाँ र ८७ लाख ४९ हजार युरो (एक अर्ब १८ करोड रुपैयाँ ) गरी करिब दुई अर्ब १० करोड बराबरको ग्यारेन्टी रकमबापतको भुक्तानी इन्भेस्टमेन्ट बैङ्कबाट जफत गरेको थियो ।
यसअघि इटालीको अदालतले जमानतबापत जफत भएको रकमको काउन्टर भुक्तानी स्थानीय इन्टेसा सानपओलो बैङ्कले इन्भेस्टमेन्ट बैङ्कलाई दिन नपर्ने भनेको थियो । इन्भेस्टमेन्ट बैङ्कले फैसलाविरुद्ध अदालतमा अपिल परेको थियो । यसमाथि अदालतको संयुक्त इजलासमा भएको बहसपछि काउन्टर ग्यारेन्टी दिने स्थानीय बैङ्कलाई इन्भेस्टमेन्ट बैङ्कको भुक्तानी दिन अदालतले आदेश दिएको छ ।
‘हामीले अदालतमा ठेक्काको पार्टीलाई चिन्दैनौं भन्यौं, जसलाई त्यहाँको अदालतले स्वीकार्यो’ पाण्डेले भने,’अब फस्न पुगेको पैसा फर्किनेछ । यो निकै सुखद् कुरा हो ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३