काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) का नेता राजेन्द्र महतोले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव संविधानको मर्म विपरीत भएको बताएका छन् ।
संसदको राज्य व्यवस्था समितिले नागरिक विधेयकमा विदेशी महिलालाई ७ वर्षसम्म अंगीकृत नागरिकता नदिने र त्यसबेलासम्म आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न स्थायी आवासीय अनुमति पत्र प्रदान गर्ने व्यवस्था राख्ने प्रस्ताव गरेको छ ।
समितिको आइतबारको बैठकमा राजपा सांसद महतोले यसको विरोध गरेका छन् । ‘अंगीकृत नागरिकका सन्दर्भमा जे बन्देज लगाउनु थियो, संविधानमा लगाइसकेको छ’ उनले भने, ‘अहिले फेरि ७ वर्षको प्रस्ताव किन ?’
किन प्रस्ताव आयो बुझ्न नसकेको भन्दै महतोले भने, हामीले कहाँ प्रहार गर्न खोजेको हो ? जनताको भावनामा ठेस पुग्ने कानुन बनाएर के सन्देश दिन खोजिएको हो ?’
७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावलाई राष्ट्रियतासँग जोड्न खोजिएको भन्दै उनले वैवाहिक सम्बन्धले राष्ट्रियतामा कहाँ असर परेको छ भन्ने प्रश्न गरे । ‘वैवाहिक सम्बन्धले हाम्रो राष्ट्रियतामा कहिले खलल गरेको छ ? गरेको छैन भने के का लागि जनता र उनीहरुको सम्बन्धलाई दण्डित गर्न खोजिएको हो ?’ उनले भने, ‘जनस्तरको सम्बन्ध टुटाउने काम गर्न हुँदैन ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३