काठमाडौँ – कोभिड–१९ को कारणबाट विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुको उद्दारका लागि गरिएको कार्यप्रगतिको बारेमा सरकारी अधिकारीहरुले संसदीय समितिमा जानकारी गराएका छन् ।
संघीय संसद प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबारको बैठकमा परराष्ट्र मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उडड्यन मान्त्रालय, कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)का सचिवहरुले विदेशबाट उद्दार गरी ल्याउने सम्बन्धमा हालसम्म भएको प्रगतिको बारेमा जानकारी गराएका छन् ।
बैठकमा परराष्ट्र सचिव शंकरदास बैरागीले ७९ देशबाट ५८ हजार ९ सय ७८ जना नेपाली नागरिकहरु स्वदेश आउन चाहेको तर सरकारको प्राथमिकतामा ४४ हजार ७ सय ६१ जना रहेको बताए । उनले सबै ठाउँमा चार्टड उडान गर्न सम्भव नभएकोले सबैलाई उद्दार गर्न चुनौति रहेको जानकारी गराए ।
थोरै संख्यामा नेपालीहरु रहेका मुलुकहरुमा चार्टड उडान गर्न सम्भव नभएको उनले बताए । सचिव बैरागीले कोरोना भाइरस परीक्षण गरिएका व्यक्तिलाई मात्रै उद्दार गरी ल्याउने विषय व्यवहारीक नदेखिएकोले थप चुनौति बढेको समेत बताए ।
उनले कतिपय मुलुकले कुनैपनि लक्षण नभएका व्यक्तिलाई पीसीआर र आरडिटी परीक्षण नगर्ने भएकाले परीक्षण गरेर मात्र ल्याउने विषय व्यवहारीक नदेखिएको बताए ।
सरकारले कोभिड १९ को विश्वव्यापी कारणबाट सम्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउन सहजिकरण गर्ने सम्बन्धी आदेश २०७७ जारी गरेर विदेशमा रहेका नेपाली नागरिकहरुलाई उद्दार गर्न लागेको हो ।
उक्त आदेश अनुसार भारतबाट २० वटा नाकाबाट र तेस्रो मुलुकबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल मार्फत ल्याउने तयारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं सिसिएमसीका सचिव महेस प्रसाद गुरागाईंले जानकारी दिए ।
उनले विदेशमा रही विभिन्न सजायबाट आम माफि पाएका तथा नेपाल आउन अनुमति प्राप्त गरेका गरी विभिन्न १२ वटा आधारमा उद्दारका लागि सम्बन्धित देशमा रहेका नेपाली राजदूतावासले सिफारिस गर्ने आदेशमा उल्लेख गरिए अनुसार काम अगाडि बढेको बताए ।
यस्तै हवाइजहाज खर्च, नेपाल आइसकेपछिको अन्तरिक यातायात खर्च, होटलमा बस्ने भए होटल खर्च सम्बन्धित व्यक्ति आफैले व्यहोर्ने गरी काम गरिएको जानकारी गराए ।
पर्यटन सचिव केदारबहादुर अधिकारीले पहिलो चरणमा ६५ वटा चार्टड फ्लाइट मार्फत उद्दारको तयारी गरिएको जानकारी गराए ।
जसमध्ये ४१ वटा उठान स्वदेशी एयरलायन्सले गर्ने र बाँकी २४ वटा विदेशी एयरलायन्सले गर्ने उनले बताए । ६५ वटा उडान बाहेक पनि थप केही उडान पाहिलो चरणमा हुन सक्ने उनले जानकारी दिए । पहिलो चरणमा ११ जुन देखि ३० जुन सम्ममा करिब ८० वटा चार्टड उडान हुने उनले बताए ।
अहिले सम्म ४ हजार भन्दा बढी नागरिकलाई ल्याइएको र सबै उडान हुँदा १२ हजार नागरिक स्वदेश आउने सचिव अधिकारीले बताए । उनले अहिले सम्म सिंगापुर, कम्बोडिया र श्रीलंकाबाट ल्याउने काम सकिएको र बंगलादेश तथा थाइल्याण्डबाट उद्दार गर्ने कार्य अन्तिम अवस्थामा पुगेको तर खाडी मुलुकमा बढी चाप रहेको बताए ।
बैठकमा सांसदहरुले सहज र सजिलो प्रक्रियाबाट छिटो भन्दा छिटो स्वदेश फिर्ता ल्याउने गरी कामलाई अगाडि बढाउन सुझाव दिएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३