काठमाडौँ – सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो।
अघिल्लो दिनको तुलनामा यस दिन ४ सय रुपैयाँले मूल्य बढेको हो। अन्तर्राष्ट्रिय बजारमा सोमबार प्रतिऔंस १ हजार ७ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपालमा पनि असर परेको महासंघले जनाएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। अघिल्लो दिन तोलाको ९४० रुपैयाँ रहेको चाँदी यस दिन ९५० पुगेको छ।
किन बढिरहेको छ मूल्य?
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय क्षेत्रमा कतिपय उद्योग कलकारखानाहरु बन्द अवस्थामा छन्।
त्यस्तै व्यवसायीहरु अहिले कोरोनाका कारण नयाँ क्षेत्रमा लगानी गर्न उत्साहित देखिँदैनन्। व्यवसायीले अहिले सुनमै आफ्नो लगानी सुरक्षित गर्न केन्द्रित भएकाले माग बढेको शाक्य बताउँछन्।
कोरोनाका कारण कतिपय व्यवसायहरु सञ्चालन हुन नसकेको र संचालन भएकाहरु पनि बन्द रहेकाले लगानी सुनतिर गएको उनको भनाइ छ।
‘सुनको माग बढिरहेको छ, तर त्यो अनुसार आपूर्ति हुनेगरी उत्पादन बढेको छैन’ उनले भने।
त्यस्तै बजेटले प्रतितोला २ हजार ३ सय रुपैयाँ भन्सार शुल्क बढाएकाले मूल्यमा त्यसको पनि असर देखिएको उनले बताए।
‘एउटा नेपाली नागरिकले अहिले एक तोला सुन किन्नुपर्यो भने उसले १० हजार रुपैयाँ त राजश्व मात्रै तिरेको हुन्छ, बजेटले बढाएको भन्सार शुल्कले पनि नेपालमा मूल्य वृद्धिमा असर पारेको हो’ उनले भने।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७