काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले साउनको दोस्रो सातासम्म परीक्षाफल प्रकाशित गर्ने गरी कार्यवधि तयार गरेको छ । र्यविधिअनुसार सबै विद्यालयले यही असार २० सम्म विद्यार्थीको अन्तिम मूल्यांकन गरी शिक्षा विकास तथा समन्वय एकाइमा पठाउने र एकाइले यही ३० गतेभित्र सबै अंक बोर्डमा पठाउने तयारी गरेको छ ।
विद्यालयको मूल्यांकन समिति र एकाइले पठाएको नम्बर प्रविष्ट गरी सो नम्बरलाई अक्षराङ्क पद्धतिमा समाविष्ट गरी परीक्षाफल प्रकाशित गर्ने भएको छ । बोर्डले बुधबार सबै विद्यालयल र एकाइलाई सोसम्बन्धी निर्देशन दिनेछ । परीक्षा नियन्त्रक रामराज खकुरेलले परीक्षाको कार्यविधि तयार भएलगत्तै आज बुधबारबाट प्रक्रिया सुरु हुने जानकारी दिए ।
साउनको तेस्रो ७ गतेबाट कक्षा ११ को नयाँ शैक्षिक सत्र सुरु हुने गरी परीक्षाफल प्रकाशित गर्ने तयारी भएको जानकारी गराउँदै परीक्षा नियन्त्रक खकुरेलले सोहीअनुसार तयारी गरेको बताए ।
बोर्डले मंगलबार माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि पारित गरेलगत्तै आन्तरिक कार्यतालिका तयार गरेको हो । सोमबार बसेको बोर्डको बैठकले कार्यविधि पारित गरे पनि केही त्रुटि भएको कारण मंगलबार सार्वजनिक गरेको हो ।
कोरोनाको महामारीका कारण एसईईको परीक्षा तोकिएको मितिमा सञ्चालन हुन नसकेको र महामारी कायम रहने अबधिसमेत अनिश्चित रहेको हुँदा विद्यार्थीको शैक्षिक सत्र समेतलाई मध्यनजर गरी शिक्षा ऐन, २०२८ (संशोधनसहित) को दफा ४ट (१)मा उल्लिखितमध्ये कक्षा १० का विद्यार्थीको हकमा सम्बन्धित विद्यालयबाट गरिएको अन्तिम मूल्यांकनका आधारमा प्रमाणपत्र उपलब्ध गराउने उल्लेख गर्दै ऐनको दफा २० अनुसार बोर्डले कार्यविध तयार गरेको हो ।
कार्यावधिमा विद्यार्थीको परीक्षाको अन्तिम मूल्यांकन गर्न सम्बन्धित विद्यालयको प्रधानाध्यापक अध्यक्ष रहनेगरी तीन सदस्यीय समिति गठन गर्ने व्यवस्था गरेको छ । समितिमा सम्बन्धित कक्षा शिक्षक, माध्यमिक तहका शिक्षकहरुमध्य नियुक्तिका आधारमा सबैभन्दा ज्येष्ठ, शिक्षक प्रतिनिधि सदस्य हुने व्यवस्था गरिएको छ ।
सैद्धान्तिक मूल्यांकनको लागि माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ अनुसार विद्यालयहरुले लिएका परीक्षाहरुमध्ये अधिकतम पाठ्यक्रम समावेश हुने गरी पछिल्लो पटक लिइएको परीक्षाको अंकलाई विषयगत पूर्णांक अन्तरगत परिवर्तन गरी विषयगत अन्तिम मूल्यांकनको प्राप्तांक दिने व्यवस्था उल्लेख गरिएको छ ।
प्रयोगात्मक मूल्यांकनअनुसार प्रयोगात्मक प्राप्तांक चढाउँदा सम्बन्धित विद्यालयहरुले यसअगाडि नै प्रयोगात्मक परीक्षा सञ्चालन गरी शिक्षा विकास तथा समन्वय एकाइमा पठाएको विवरणमा फरक नपर्ने गरी सोही अंक चढाउनुपर्ने व्यवस्था गरिएको छ ।
कार्यविधिमा खुला विद्यालयमा अध्ययनरत विद्यार्थीको हकमा समेत सम्बन्धित विद्यालयले पाठ्यक्रम बमोजिमको प्रक्रिया अबलम्बन गर्नुपर्ने उल्लेख छ ।
विद्यालयले राखेको अभिलेख बोर्डबाट परीक्षाफल प्रकाशन नभएसम्म मूल्यांकन विवरण गोप्य राख्नु पर्नेछ । २०७६ सालको एसईई परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी हुने भएका छन् । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले सरकारको निर्देशनअनुसार कार्यविधि तयार गरेको बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३