काठमाडौँ – पत्रकार कुट्ने र क्यामरा फुटाउने नुवाकोटको तारकेश्वर गाउँपालिकाको घटनामा संलग्नमाथि कारबाही गर्न नेपाल पत्रकार महासंघ तथा नेवा: पत्रकार राष्ट्रिय दबूले विज्ञप्तिमार्फत माग गरेको छ । त्यस्तै महासंघको बागमती प्रदेश समिति, नुवाकोट जिल्ला समिति र राष्ट्रिय फोटो पत्रकार समूह र प्रेस संगठन नुवाकोटले पनि पत्रकार कुट्ने र क्यामरा फुटाउने कामको निन्दा गर्दै संलग्नलाइ कारबाहीको माग गरेको छ ।
बुधबार नुवाकोटको तारकेश्वर गाउँपालिकाको गाउँसभामा नेपाली कांग्रेसका वडा अध्यक्षहरू दयानिधी अधिकारी, सूर्यमान श्रेष्ठ र ज्ञानेन्द्र तामाङले तीन पत्रकार माथि दूर्व्यवहार गर्दै क्यामरा खोसेर फुटाएका छन भने पत्रकारले चढेको सवारीसाधनमा समेत क्षति पुर्याएका छन । अधिकारी वडा नम्बर १, श्रेष्ठ ३ र तामाङ ६ नम्बर वडाका अध्यक्ष हुन ।
उनीहरूले टिभी त्रिशुलीका समाचार प्रमुख सुजित भण्डारीमाथि हातपात गरी क्यामरा लुटेर फुटाएका छन भने त्रिशुली खबरका सम्पादक नविदीप अजनवी श्रेष्ठ र मिक्स एफएमका विष्णु अधिकारीलाइ दूर्व्यवहार गरी सवारीमा क्षति पुर्याएका छन । गाउँसभामा अबरोध गरिरहेको समाचार संकलन गरिरहेका पत्रकारमाथि सामूहिक रूपमा दूर्व्यवहार भएको हो । गाउँसभामा विरोध गर्न आएका नेपाली कांग्रेसका कार्यकर्ताहरुले धम्कीपूर्ण नाराबाजी गर्दै हातखुट्टा भाँचिदिने चेतावनी समेत दिएका छन् ।
स्थानीय जनप्रतिनिधिहरु नै यस्तो कार्यमा संलग्न भएको भन्दै नेवा: पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्राचार्यले चिन्ता व्यक्त गरे ।
पत्रकारको सुरक्षामा ध्यान दिन र संलग्नलाई कारबाहीको दायरामा ल्याउन पनि उनले माग गरे।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७