काठमाडौँ – फेरि उत्कर्षमा देखिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा शीर्ष नेताहरुबीचको विवादले नयाँ मोड लिने भएको छ । आफूलाई सत्तामा टिकाइराख्न र पार्टीमा पकड पनि बलियो बनाइराख्न प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले तत्कालै मन्त्रिपरिषद् सदस्यहरुको हेरफेर गर्ने भएका छन् । यसका लागि उनले आफूनिकट केही नेता र विभिन्न क्षेत्रका विज्ञहरुसँग छलफल गर्न थालिसकेका छन् ।
यहीबीच उनले नेकपा नेता वामदेव गौतमलाई गृहमन्त्री बनाउनका लागि गृहकार्य सुरु गरेका छन् ।
यसअघि राजनीतिक पार्टी फुटाउन सहज हुने अध्यादेश ल्याउँदा पार्टीमा अल्पमतमा परेका ओलीमाथिको संकट गौतमले उनको पक्ष लिएर टारिदिएका थिए ।
त्यही बेला नै प्रधानमन्त्री ओली उचित समयमा गौतमलाई कुनै पद दिन तयार भइसकेका थिए । संविधान संशोधन भएर राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने प्रावधान हुनु पर्ने माग राख्दै राष्ट्रिय सभामा जान त्यति बेला अस्वीकार गरेका गौतमलाई अब राष्ट्रिय सभामा लगेर गृहमन्त्री बनाउने तयारीमा प्रधानमन्त्री ओली लागेका हुन् ।
नेकपाका एक केन्द्रीय सदस्यका अनुसार, ‘उहाँ (वामदेव गौतम)लाई गृहमन्त्री बनाउँदा अहिले तत्काल पार्टीमा देखिएको विवाद मत्थर हुने र केही समयका लागि आफू बलियो भइरहने अनुमान गरेर नै प्रधानमन्त्री ओलीले यस्तो निर्णय गर्नु भएको हो । फेरि उहाँले यसअघि बारम्बार गौतम कमरेडलाई आफ्नो गुटमा राख्नका लागि यस्ता आश्वासन पनि दिने गर्नु भएको छ ।’
उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले यो निर्णय अहिले जारी रहेको नेकपा स्थायी कमिटी बैठक सकिएको एक दुई दिनमा नै गर्नेछन् ।
त्यसो त प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा अरु हेरफेर गर्ने तयारी पनि गरेका छन् । यसका लागि उनले केही नेकपा नेताहरुसँग पनि सल्लाह गरेका छन् ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफूलाई सहयोग गरे पनि पछिल्लो समय ‘राम्रो काम’ गर्न नसकेको निष्कर्ष प्रधानमन्त्री ओलीले निकालेका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यका अनुसार पछिल्लो समय ओलीले सबै मन्त्रीहरुको ‘रिपोर्ट कार्ड’मा अध्ययन पनि सुरु गरेका छन् ।
गृहमन्त्री बादललाई हटाउन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ पनि प्रधानमन्त्री ओलीलाई रहेको बताइएको छ । ‘यसो गर्दा पार्टीमा प्रचण्डको विरोधको स्वरलाई पनि केही कम गर्न सकिन्छ कि भन्ने प्रधानमन्त्री ओलीको बुझाइ रहेको छ,’ नेकपाका ती नेताले भने ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७