बिगेन तुलाधर / सौगात मिश्र, ललितपुर – काठमाडौँ तराई जोड्ने फास्ट ट्रयाक धेरैको लागि खुसीको खबर बनेको छ भने खोकनाबासीका लागि एउटा पिडादायी घाँउ । पुरानो नेवाः वस्ती भएको ठाँउ खोकनाबाट फास्ट ट्रयाकको बाटो खुलाइदै छ । विकाशको गतिमा राम्रो छलाङ मार्ने विश्वास लिइएको यस फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ ।
यस फास्ट ट्रयाकमा पर्ने जती पनि जग्गाहरु छन् , ति जग्गाका धनीलाई सरकारले मुआब्जा दिने त भन्यो तर प्रचलित मुल्य भन्दा निकै कम । हाराहारी ८ देखि १० लाख रुपैया प्रतिआनाको जग्गालाई सरकारले जम्मा १ लाख ३० हजारको मुल्यांकन गरी मुआब्जा दिन खोजेको स्थानीय कर्मा महर्जनले गुनासो पोखेँ ।
फास्ट ट्रयाकले आफ्नो जग्गा ओगट्यो पुन त्यसमा विद्युतको हाइटेन्सन लाइन पनि थपियो । त्यसले पुन बाँकी जग्गाहरु पनि ओगट्ने आर्को पिडा थपियो खोकनाबासीमा ।
करिब ५० प्रतिशतभन्दा कम फास्ट ट्रयाक प्रभावित स्थानीयले डर र त्रासको बीच कौडिको भाँउमा मुआब्जा लिन बाध्य पारिएको पनि स्थानीय कर्मा महर्जनले बताए । उनका अनुसार स्थानीयलाई त्रासको वातावरण श्रीजना गरेर उक्त कौडीको भाउको मुआब्जा दिइएको थियो ।
मुआब्जा नलिएका स्थानीयहरुको जमिन पनि बलजफ्तीमा सरकारले कब्जामा लियो र नेपाली सेनाको निर्माण सम्बन्धी काम गर्ने कार्यालय खडा गरियो । स्थानीय प्रतिकारमा त उठे तर शक्ति र सत्ता हातमा भएकाहरुको अगाडी उनीहरुको केही सिप चलेन । तर पनि स्थानीयहरु हार मान्ने पक्षमा छैनन् ।
असार १५, किसानहरुको एउटा ठूलो उत्सव । मानो रोपेर मुरी फलाउने दिनको रुपमा लिइन्छ असार १५ । किसानहरु कोदाली, बिउ र उत्साह बोकेर खेत तर्फ लाग्छन् । तर यो रोपाई अन्य ठाँउका कृषकहरुको भन्दा फरक हुनेमा उनीहरु पनि विश्वस्त छन् ।
उनीहरु खेतमा पुगेर रोपाईको तयारी गर्दा नगर्दै एक हुल प्रहरी आएर उनीहरुलाई रोक्न खोज्छ । फास्ट ट्रयाक निर्माण हुने ठाँउमा उनीहरुलाई रोपाई गर्न नदिने प्रहरीको त्यो पहिलो प्रयासलाई स्थानीय किसानले पुरा हुन नदिन सकेको प्रयास गर्छन् ।
सशस्त्र प्रहरी बलको आर्को हुल आएर खडा गरिन्छ । प्रहरी र किसानको रस्साकस्सी निकै चल्छ । जोतिरहेको ट्याक्टर रोक्ने प्रयासमा प्रहरी र प्रहरीको त्यो प्रयास विफल पार्ने किसानको प्रयास निरन्तर चलिनै रहन्छ । सशस्त्र प्रहरीको हुलको अगाडी किसानहरु लम्पसार परेर बाटो अवरोध गरिदिन्छन् ।
नेपाल सरकार, प्रहरी प्रसासन र नेताहरुको विरुद्ध नाराहरु पनि घन्किन्छ । असार १५ लाई सार्थक बनाउनकै लागि होला, एकछिन मुसलधारे पानी बर्सिन्छ । किसान पहिले देखि नै हिलाम्मे थिए, प्रहरीहरु पनि निथ्रुक्क रुज्छन् । केही समय सबैको ध्यान पानीले आफूतिर मात्र केन्द्रित गर्छ, किसान बसेर अनि प्रहरी उभिएरै केहि बेर थकाइ मार्छन् ।
केही समयमा पानी रोकिन्छ, फेरी सुरुहुन्छ उही रस्साकस्सी । अन्ततः प्रहरीले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराए पश्चात स्थानीयसँग प्रशासन वार्ता गर्न राजी हुन्छ ।
यस्ता वार्तामा खोकनाबासीले धेरै नै भाग लिइसके । के अबको वार्ताले अरुको लागि बनेको उत्साहजनक फास्ट ट्रयाक निर्माणको कार्य खोकना बासीको पनि उत्साह बनाउन सफल होला ?
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३