काठमाडौं – नेकपा स्थायी कमिटी बैठक बसिरहेका बेला निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल कसको निर्देशनमा निवेदन दर्ता भयो ? बैठकको एजेण्डा नै विषयान्तर हुने गरी यो प्रश्नले मंगलबारको बैठक प्रभावित भयो ।
बालुवाटारमा जारी बैठकमा उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीकै निर्देशनमा नेकपा एमाले ब्युँताउने निवेदन दर्ता भएको बैठकमा बताए ।
एक स्थायी कमिटी सदस्यका अनुसार गौतमले प्रधानमन्त्रीकै निर्देशनमा एमाले ब्युँताउन खोजिएको ठोकुवा गरेका थिए ।
बैठकमा गौतमको भनाइ थियो, एमालेको नाममा दल दर्ता गर्नेमा प्रधानमन्त्री कमरेडको निर्देशन छ । यसमा म विश्वस्त छु र अहिले यस्तो काम गर्ने बेला होइन । अहिले पार्टीलाई पद्दतिसम्मत र सरकारलाई लोकप्रिय बनाउने हो । यी दुवै काममा प्रधानमन्त्री चुक्नुभयो ।
बैठकमा अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्रीनिकट कानुन व्यवसायीले नेकपा एमाले ब्युँताउने निवेदन तयार पारेको सूचना आफूले पाएको बताएका थिए ।
बैठक चलिरहेका बेला एमाले दल दर्ताको निवेदन कसको निर्देशनमा निर्वाचन आयोगमा गएको हो भनेर प्रचण्डले नै सुरुमा प्रश्न गरेका थिए ।
प्रधानमन्त्री ओलीले भने दल दर्ताको निवेदनबारे आफूलाई कुनै जानकारी नरहेको भन्दै आफू नेकपाको अध्यक्ष रहेको बताएका थिए । ‘गोपाल किराँतीको नाममा पनि माओवादी केन्द्र दर्ता छ, मैले केही भनेको छु र ? प्रचण्डतिर संकेत गर्दै ओलीले बैठकमा जवाफ दिए ।
झापाकी सन्ध्या तिवारीले नेकपा एमाले दर्ताको निवेदन लिएर निर्वाचन आयोगमा गएको आयोगले पुष्टि गरेको छ । नेकपा नेताहरूले यसलाई गम्भीर रूपमा लिएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३