भारतको विहार राज्यको पटनामा एक बैवाहिक समारोहमा सहभागी भएका ९५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको जस्तो लक्षण देखिएका ३० वर्षीया बेहुलाको पनि विवाह भएको दुई दिनपछि मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार गत जुन १५ मा सफ्टवेयर इन्जिनियरसमेत रहेका ३० वर्षीय एक युवकको विवाह भएको थियो । विवाह भएको दुईदिनपछि नै उनको मृत्यु भएको थियो । उनलाई कोरोना भाइरससँग मिल्दो लक्षणहरु पनि देखिएका थिए । तर, परिवारले अधिकारीहरुलाई खबर नै नगरी अन्त्येष्टि गरेका थिए ।
यो घटनाको पुष्टि गर्दै पटनाका डिस्ट्रिक मेजिस्ट्रेट (डीएम) कुमार रविले विवाहपछि बेहुलाको मृत्यु भएको सूचनासहितको फोन आएको सूचना आएको बताए । उनका अनुसार बेहुला गुरुग्रामबाट आएका थिए र उनमा कोरोना भाइरससँग मिल्दो लक्षण देखिएको थियो । तर, पनि परिवारले उनको कोरोना भाइरस परीक्षण गर्नुको सट्टा विवाह गरिदिने निर्णय गरे । विवाहपछि उनको अवस्था झन् खराब हुँदै गयो र पटनाको अस्पतालमा लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको थियो ।
डीएम कुमार रविका अनुसार उनको मृत्युको सूचना एक सातापछि मात्र आएको थियो । त्यसपछि मृतका आफन्त र छिमेकीको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये १५ जना कोरोना संक्रमित पाइएका थिए । त्यसपछि विवाहमा सहभागी सबै मानिसको कन्ट्याक्ट ट्रेसिङ गरेर तीन सय जनामा परीक्षण गर्दा सोमबार थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
बेहुला र बेहुलीका बाबु दुवै शिक्षक हुन् भने बेहुली सिभिल इन्जिनियर रहेको समाचारमा बताइएको छ ।
स्रोत : टाइम्स अफ इन्डिया
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३