काठमाडौं – आजदेखि चार दिनसम्म ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ । गृह मन्त्रालय अन्तरर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चार दिनसम्म ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम हुने भन्दै सर्तकता अपनाउन आग्रह गरेको हो ।
प्राधिकरणका अनुसार आजदेखि आइतबारसम्म प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्ने अनुमान गरिएको छ । पहाडी क्षेत्रमा साना खोला, खहरे, नदी र तालमा बाढी आउने सम्भावना छ । कतिपय ठाउँमा पहिरो पनि जान सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ ।
भोलिदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, वग्मती, नारायणी र यसका सहायक नदीमा पानीको सतह बढ्न सक्छ । विषेशगरी प्रदेश १ र २ का चुरे तथा तराई भएर बस्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई थप सर्तक रहन सूचनामार्फत आग्रह गरिएको छ ।
झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायतका जिल्लाका होचा ठाउँमा डुबानको खतरा रहेको पनि प्राधिकरणले जनाएको छ ।
ठूला नदीमा आउने बाढीबारे जानकारी दिन जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ तथा आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्रि नम्बर ११४९ उपलब्ध हुने जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३