काठमाडौं – सिन्धुपाल्चोकमा बाढीले पुर्याएको क्षतिको अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटालाई लिएर उडेको हेलिकप्टर विहीबार बिहान धुलिखेलको आकाशबाटै काठमाडौं फर्किएको छ ।
खराब मौसमका कारण नेपाली सेनाको हेलिकप्टर बाह्रबीसेतर्फ जान नसकी धुलिखेलको आकाशबाटै फर्किएर त्रिभुवन विमानस्थलमा अवतरण भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
सभामुख सापकोटाको टोली विहीबार बिहान सिन्धुपाल्चोकका लागि उडेको थियो । सापकोटा सिन्धुपाल्चोकबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
सभामुख चढेको हेलिकोप्टर फेरि सिन्धुपाल्चोक जाने प्रयासमा रहेकै बेला काठमाडौंमा भारी वर्षा सुरुभएकाले मौसम झनै प्रतिकूल बनेको छ ।
यसैवीच, बाह्रबीसे रहेको नेपाली सेनाको ३० सदस्यीय उद्धार टोली बाढीग्रस्त क्षेत्रमा पुग्न लागेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।
बुधबार राति भोटेकोशीमा आएको बाढीले सिन्धुपाल्चोकमा दुईजनाको मृत्यु हुनुका साथै १४ जना बेपत्ता छन् । तीनजनाको उद्धार गरिएको छ ।
बाढीले मध्य भोटेकोशी जनविद्युत आयोजनामा समेत क्षति पुर्याएको छ । आयोजनामा कार्यरत एकजना चिनियाँ प्राविधिक समेत बेपत्ता छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३