काठमाडौं – विदेशमा अलपत्र परेका नेपालीहरुको चार्टर्ड उडानमार्फत भइरहेको उद्धार कार्य यही जेठ २८ गतेदेखि बन्द हुने भएको छ। विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत जेठ ३२ गतेदेखि थालिएको स्वदेश फर्काउने अभियान असार २८ पछि स्थगन हुन लागेको हो।
विभिन्न देशमा कोरोना महामारीपछि समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भइरहेको उडान समिक्षा गर्न असार २८ पछि तत्काल विदेशबाट नेपाली ल्याउन उडान नगर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
जेठ ३२ गतेदेखि सरकारले विभिन्न देशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि उडान गरेको थियो । यो अवधिमा हिमालय एअरलाइन्स, नेपाल एअरलाइन्स र अन्य विभिन्न विदेशप् जहाजहरु कतार एयरवेज, टर्किस एयरलायन्स, फ्लाई दुबई, जजिरा एयरवेज, कोरियन एअर, एअर अरेबिया, मलिण्डो, सलाम एअरलगायतले उडान अनुमति पाएका छन् ।
विदेशमा अलपत्र परेकाको स्वदेश फिर्तीका लागि मन्त्रालयले पहिलो चरणमा ६७ वटा चार्टर उडानलाई अनुमति दिएको थियो । त्यसपछि पनि एअरलाइन्स कम्पनीले विभिन्न समयमा उडान तालिका सार्वजनिक गर्दै नेपालीको स्वदेश फिर्तीको काम भइरहेको छ ।
उद्धार नगरी नहुने अवस्थामा विशेष अनुमति दिने र स्वास्थ्य सामग्री ल्याउने कार्गो उडानलाई भने अनुमति दिने पर्यटन मन्त्रालयले जनाएको छ । मन्त्रालयले अहिले भएको चार्टर्ड उडानसम्बन्धि समिक्षापछि फेरि स्वदेश फिर्तीका लागि उडान हुने जनाएको छ । बिहीबारसम्ममा खाडी मलेसियासहित विभिन्न देशमा समस्यामा परेका १ सय ४८ उडानमार्फत २३ हजार १०४ जना नेपाली स्वदेश फर्किएका छन् ।
पछिल्लो पटक हिमालय र नेपाल एअरलाइन्सका स्वदेश फिर्तीमा संलग्न ‘क्याबिन क्रु’लाई पनि कोरोना भाइरस सङ्क्रमण देखिएको छ । सरकारले कुवेत, साउदी अरब, बहराइन, यूएई, कतार, मलेसिया, इजरायल, ओमान, साइप्रस, दक्षिण कोरिया, जापानबाट नेपालीहरु ल्याएको छ ।
यस्तै अस्ट्रेलिया, सिंगापुर, थाइल्यान्ड, बंगलादेश, श्रीलंका, माल्दिभ्स, पाकिस्तान लगायतका देशबाट पनि नेपालीहरु स्वदेश फर्किएका छन् । आज पनि विभिन्न देशबाट नेपाली ल्याउन लिन जानका लागि विमानस्थलमा १० अन्तर्राष्ट्रिय उडान हुने भएको छ । आज विभिन्न ६ उडानमार्फत नेपाली स्वदेश फर्कदै छन् ।
नेपाल एअरलाइन्सले कतारको दोहाबाट, मलेसियाको क्लालाम्पुरबाट नेपाली लिएर आउँदै छन् भने हिमालय एअरलाइन्सले साउदीको दमामबाट, कुवेतबाट, मलेसियाको क्लालाम्पुरबाट नेपाली लिएर आउँदैछन् । सलाम एअरले ओमानबाट नेपाली लिएर आउँदैछ भने कोरियन एअरबाट दक्षिण कोरियाबाट पनि नेपालीहरु आज स्वदेश फर्कंदैछन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७