वीरगञ्ज – संक्रमितको संख्या बढेर व्यवस्थापनमा समस्या देखिएको पर्सा र बारामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार राति १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । २ जना चिकित्सकसहित अधिकांश संक्रमित वीरगञ्जका छन् । केहीमा ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षण पनि देखिएको छ ।
नारायणी अस्पतालको पीसीआर प्रयोगशाला स्रोतका अनुसार वीरगञ्ज–११ श्रीपुरका २६ वर्षीय चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । उनी आफ्नै बुवाको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । त्यस्तै श्रीपुरकै ४५ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका दुवै जना शंकास्पद संक्रमितको रुपमा वीरगञ्जस्थित कोरोना अस्पतालमै थिए ।
वीरगञ्ज–४ विर्ता बस्ने अर्का ४० वर्षीय चिकित्सकमा समेत कोरोना देखिएको छ । नारायणी अस्पतालमा कार्यरत उनलाई ५ दिनदेखि ज्वरो आइरहेको थियो । नारायणी अस्पतालमै कार्यरत ३१ वर्षीय अर्का कर्मचारीलाई पनि कोरोना देखिएको छ ।
ज्वरो र खोकी लागेपछि शंका लागेर उनीहरुले पीसीआर परीक्षण गराएका थिए । पेड पीसीआर गराएका वीरगञ्ज–७ लोहरपट्टीका ५५ वर्षीया, वीरगञ्ज–१३ रानीघाटका ३४ वर्षीय, वीरगञ्ज–७ रामटोलका ३३ वर्षीय र वीरगञ्ज–१३ राधेमाईका २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको नारायणी ल्याब स्रोतले जनाएको छ ।
जगदम्बा इन्टर प्राइजेजमा कार्यरत ४८ वर्षीय, ५६ वर्षीय र २६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । गत साउन ६ गते जगदम्बामा कार्यरत ५६ वर्षीय पुरुषमा कोरोना संक्रण पुष्टि भएको थियो । उनी कोरोना अस्पतालको आईसीयुमा कक्षमा छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साको थुनुवा कक्षमा रहेका २३ वर्षीय र बाराको कलैया उपमहानगरपालिका–५ बस्ने ४१ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।
भारतको बैंगलोरबाट आएका वीरगञ्ज–२३ सबैठवाका २६ वर्षीय पुरुष र ईलाम घर भई पर्साको ठोरीस्थित सरस्वती मावि क्वारेन्टिनमा बस्दै आएका ५६ वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । उनी पनि भारतबाट आएका व्यक्ति हुन् ।
वीरगञ्जको कोरोना अस्पतालमा १० जना महिलासहित ५७ जना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये चार जना आईसीयुमा छन् ।
आइसोलेसन बेडको अभावमा यसअघि नै पर्सामा ४२ जना संक्रमितलाई आइसोलेसनमा ल्याउन नसकेको अवस्था छ । कतिपयलाई क्वारेन्टिनमै छुट्टै राखिएको छ भने कतिपय घरमै आइसोलेटेड छन् । तर होम आइसोलेसन सम्बन्धी कार्यविधिको पालना भए/नभएको कसैले पनि अनुगमन गरेका छैनन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३