नियमित उडानका लागि भनेर कम्पनीले टिकटसमेत खरिद गरिसकेको उनको भनाइ छ । चार्टर्ड उडानका लागि करिब ५० प्रतिशत रकम थप गर्नुपर्ने भएकाले खर्च नहुँदा समस्या भएको भन्दै उहाँले सहयोगका लागि अनुरोध गरे ।
मलेसियाबाट नेपाल आउनका लागि नियमित उडानमा छ सयदेखि सात सय रिङ्गेट तथा चार्टर्ड उडानमा एक हजार ५९० रिङ्गेट पर्ने उनको भनाइ छ । विमानस्थल पुग्न छ घण्टा हिँड्नुपर्ने र त्यसका लागि ७० रिङ्गेट तथा कोरोना परीक्षणका लागि ३५० रिङ्गेट खर्च लाग्ने हुँदा समस्या भएको अर्का नीरकुमार तामाङले बताए । कम्पनीले खर्च नबेहोर्दा नेपाल आउन उनीहरुले रु ५६ हजार ७९ तिर्नुपर्ने हुन्छ ।
खान र बस्नका लागि कम्पनीले व्यवस्था गरेको भए पनि कम्पनीले दिने खाद्यान्नले नपुग्ने विकास विश्वकर्माले बताए । नौ जनालाई हप्तामा २० केजी चामल दिने भए पनि अपुग हुँदा किन्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । नेपाली दूतावासलाई भनेपछि एक महिनायता मात्रै व्यस्था गरेको उनीहरुको भनाइ छ ।
खानाकै लागि एक जनालाई ४०० रिङ्गेट खर्च हुने घनश्याम श्रेष्ठले बताए । अहिले त्यस क्षेत्रमा पनि कोरोना देखिन थालेकाले जोखिम बढेको भन्दै उद्धारका लागि अनुरोध गर्नाको विकल्प नभएको उनले बताए । अब खानाकै लागि नेपालबाट खर्च मगाउनुपर्ने अवस्था आएको उनीहरुको गुनासो छ ।
अलपत्र पर्नेमा झापाका नीरकुमार, धरानका विकास र राजु विश्वकर्मा, भक्तपुरका निख पौडेल, चितवनका सुन्दर माल, बाग्लुङका अम्मर आचार्य र अमृत गुरुङ, गोर्खाका भीमबहादुर मगर, सिरहा लहानका बद्रीप्रसाद यादव र सोलुखुम्बुका घनश्याम रहेका छन् ।-रासस