काठमाडौं – सूचीकृत २६ वाणिज्य बैंकमध्य हालसम्म सात बैंकले मात्र लाभांश प्रस्ताव गरेका छन् । हालसम्म बैंक अफ काठमाण्डू , सानिमा बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स इन्टरनेशनल एनआईसी एशिया बैंक, कुमारी बैंक र ग्लोबल आइएमई बैंकले मात्र लाभांश प्रस्ताव गरेका हुन । अझै १९ सूचीकृत वाणिज्य बैंकहरुले लाभांश घोषणा गर्न बाँकी छ ।
विगतका वर्षहरुमा यतिवेला धेरैजसो वाणिज्य बैंकहरुको लाभांश सार्वजनिक हुने गर्दथ्यो भने कतिपयले दशै अघिनै वार्षिक साधारण सभा गरी लाभांश समेत वितरण गरेको अवस्था थियो । यो वर्ष भने कोरोना महामारीका कारण बैंकहरुको लाभांश प्रस्तावमै ढिलाई भैरहेको छ ।
हालसम्म लाभांश सार्वजनिक गर्ने वाणिज्य बैंहरुमध्य एनआईसी एशिया बैंक अग्रस्थानमा रहेको छ । यस बैंकले असोज ४ गते १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सार्वजनिक गरेको हो । सबैभन्दा बढी लाभांश प्रस्ताव गरेको एनआईसी एशिया बैंकको पनि गत वर्षभन्दा यस वर्ष कमि आएको छ । गत वर्ष १० प्रतिशत बोनस शेयर र ११ दशमलव ०५३ प्रतिशत नगद दिएको यो बैंकको यस वर्ष न्यून प्रतिशतले लाभांशमा कमि आएको हो । एनआईसी एशिया बैंकले यो वर्ष बोनस शेयरमा जोड दिदैं लाभांश प्रस्ताव गरेको छ । कुल २० प्रतिशत लाभांशमा १९ प्रतिशत बोनस शेयर बैंकले प्रस्ताव गरेको हो ।
दशै खर्च दिने गरी साधारण सभा गर्न लागेको माछापुच्छ्रै बैंकले सभा स्थगित भएपश्चात आगामी साधारण सभाले अनुमोदन गराउने गरी २ दशमलव ८५ प्रतिशत अन्तरिम लाभांश दिने भएको छ । बैंकले प्रस्ताव गरेको ७ दशमलव ३० प्रतिशत बोनस शेयर र ३ दशमलव ३७ प्रतिशत नगद लाभांश आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गर्ने जानकारी दिएको छ ।
बैंक अफ काठमाण्डूले यस वर्ष १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यस बैंकले १३ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर समेत ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सानिमा बैंकले पनि यस वर्ष १० प्रतिशत बोनस शेयर र ३ दशमलव ६० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कुल ११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको असोज ३ गतेको सञ्चालक समितिको बैठकले ७ दशमलव ७० प्रतिशत बोनस शेयर र ३ दशमलव ३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
त्यस्तै कुमारी बैंकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ४ प्रतिशत नगद लाभांश सहित कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ भने ग्लोबल आइएमई बैंकले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांश सहित कुल १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यो वर्ष बैंकहरुले नगदमा भन्दा बोनस शेयरमा जोड दिएका छन् । १९ वटा बाणिज्य बैंकले भने लाभांश घोषणा गर्न बाँकी रहेको छ । नेपाल राष्ट्र बैंकमा धेरै बैंकहरुको वार्षिक प्रतिवेदन र साधारणसभाको प्रस्ताव रोकिएकाले पनि अन्य बैंकहरुको लाभांश सार्वजनिक गर्न पाइरहेका छैनन ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३