काठमाडौं – बल्देधुरी भन्ने स्थानमा होली खेल्ने क्रममा दुुई समूहबीच झडप हुँदा दुुई जनाको मृत्यु भएको छ । बागलुङको निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरीमा होली खेल्न गएको बागलुङका युवाहरुको दुुई समूहबीच झडप हुँदा निसिखोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको बागलुङका प्रहरी प्रमुख एसपी कृष्ण बहादुर पल्लीमगरले बताए । घटनामा निसीखोलाका केही युवाहरु घाइते भएका छन् ।
यस्तो छ घटना विवरण :
बल्देधुरीमा प्रत्येक वर्ष होलीका दिन त्यहाँ नाचगान हुन्छ । आइतबार पनि बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १० का युवाहरुको समूह त्यहाँ होली खेल्नका लागि बल्देधुरी चौरमा पुुगेको थियो ।
यता निसिखोला गाउँपालिका–७ राजकुटका करिब २५ जना युवाहरुको समूह पनि मदिरा सेवन गरेर विभिन्न व्यक्तिहरुलाई अबिर दल्दै बडिगाड गाउँपालिका–१० दर्लिङ हुँदै बल्देधुरीतर्फ जाँदै थिए । सोही क्रममा राजकुटका युवाहरुले दर्लिङमा बन्दै गरेको भानु माविमा काम गर्ने मजदुरहरुलाई पनि कुटपिट गरे । सो समूहले दर्लिङकै केही स्थानीय युवाहरुलाई पनि कुटपिट गरेको बडिगाड गाउँपालिका-१० का वडाअध्यक्ष वीरेन्द्र बुढाले बताए ।
राजकुटका युवाहरुको समूह आफ्नो गाउँमा आएर आफ्नै युवाहरुलाई कुटपिट गर्न थालेपछि दर्लिङका स्थानीयहरु आक्रोशित थिए । यता, राजकुटका युवाहरुको समूह दर्लिङ गाउँ हुँदै बल्देधुरी चौरमा पुगे जहाँ दर्लिङका युवायुवतीको समूह पहिलेदेखि नै होलीका क्रममा नाचगान गरिरहेका थिए ।
राजकुटका युवाहरुको समूह बल्देधूरी पुगेपछि दर्लिङका युवा तथा युवतीहरूलाई अबिर दल्न थाले । युवतीहरूलाई सहमतिबिना अभद्र किसिमले जबरजस्ती अबिर दल्न थालेपछि त्यहाँ विवाद सुरु भयो । दुबै समूहका अधिकांश युवाहरुले मदिरासमेत सेवन गरेका थिए जसले विवादले झनै उग्ररूप लिन पुग्यो ।
राजकुटका युवाहरुको समूह आफ्नो गाउँमा आएर आफ्नै चेलीबेटीलाई अभद्र व्यवहार गरेको सुनेपछि दर्लिङका गाउँलेहरु भेला भएर बल्देधुरी पुगे । त्यसपछि दुबै समूहका युवा र गाउँलेबीच झडप भयो । सो झडपमा निसिखोला गाउँपालिका–७ राजकुटका युवाहरुलाई छानीछानी कुटपिट गरियो । केही युवाहरु त्यहाँबाट भागे । युवाहरुलाई मरणासन्न हुनेगरी कुटपिट गरेपछि राजकोटका दुईजना युवाहरु ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईलाई बल्देधुरी चौरको भीरबाट फालियो । दुवै युवाको मृत्यु भयो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३