काठमाडौं – २०२२ को विश्वकप र २०२३ को एसियन कप छनोट अन्तर्गत समूह बी को खेलमा नेपाल जोर्डनसंग ३-० ले पराजित भएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालमा भएको खेलमा जोर्डनका लागि फैसन सैफ बाहाले दुई तथा याजान अलाभाबले एक गोल गरे ।
यसअघि चाइनिज ताइपेईलाई २-० ले पराजित गर्दै आत्मविश्वासी रहेको नेपालले जोर्डन विरुद्ध भने गोल गर्न सकेन ।
जोर्डनका लागि फैजलले खेलको २४औं र ४९औं मिनेटमा गोल गरे । उनले पहिलो गोल पेनाल्टीमा गरेका थिए । रोहित चन्दले विपक्षी खेलाडीलाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा फैजलले गोल गरे । नेपालका कप्तान समेत रहेका गोलकिपर किरणले पेनाल्टी सहि जज गरेपनि गोल बचाउन सकेनन् । पहिलो हाफमा नेपालका कप्तान किरणले केही राम्रा बचाउ गर्दा जोर्डनले गोल अन्तर बढाउन सकेन ।
यस्तै फैजलले फ्रिकिकमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै जोर्डनको अग्रता दोब्बर पारेका थिए । त्यसपछि ६७औं मिनेटमा याजनले हेडरमार्फत जोर्डनका लागि तेस्रो गोल गरे ।
नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले चाइनिज ताइपेई विरुद्धको खेलमा ३ परिवर्तन गर्दै आज ५ डिफेन्डर खेलाएका थिए । तर विकास खवास आघा घण्टापनि मैदानमा टिक्न सकेनन् र उनलाई मैदान बाहिर ल्याउनुपरेको थियो । उनको स्थानमा सुनिल बल मैदान प्रवेश गरेका थिए ।
यस्तै विकास संगै अभिषेक रिजाल र दिनेश राजवंशीले आज पहिलो रोजाईँमा खेलेका थिए । दोस्रो हाफमा नवयुग श्रेष्ठ, मनिस डाँगी, विशाल राई र एरिक विष्ट मैदान प्रवेश गरेका थिए ।
समूह बी मा नेपालले सातौं खेल खेल्दा यो पाँचौ हार हो । यसअघि २०१९ मा जोर्डनमै भएको खेलमा नेपाल ३-० ले पराजित भएको थियो । यस्तै कुवेत विरुद्ध दुवै खेलमा पराजित भएको नेपाल अष्ट्रेलिया विरुद्ध पनि पराजित भएको थियो । चाइनिज ताइपेई विरुद्ध भने नेपाल दुवै खेलमा विजयी भएको थियो ।
७ खेलबाट ६ अंकसहित चौथो स्थानमा रहेको नेपालल अब अष्ट्रेलियासंग खेल्न बाँकी छ ।
जोर्डनसंग हारपछि नेपालको एसिया कपको लागि सिधै तेस्रो चरणको प्लेअफ खेल्ने सम्भावना लगभग सकिएको छ । यस्तै कतार विश्वकप २०२२ को छनोटको तेस्रो चरणमा पुग्ने नेपालको सम्भावना अब सकिएको छ ।
नेपालले अब २०२३ मा चीनमा हुने एसिया कपका लागि तेस्रो चरण छनोटमा पुग्न प्लेअफ खेल्नुपर्ने लगभग पक्का भएको छ । नेपालले अब जेठ २८ गते छनोटको अन्तिम खेल अष्ट्रेलियासंग खेल्नेछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३