काठमाडौँ – नेपाली संस्कृति भित्रका थुप्रै पर्वहरु मध्ये सिथिनखःपनि एक हो जुन वर्षायाम सुरु हुनु ठिक अघि पानीका श्रोतहरु इनार, धारा, पोखरी, राजकुलो ढुङ्गेधारा इत्यादी सफा गरि मनाउने गरिन्छ । यस पर्वले काठमाडौँ उपत्यकावासीमा पानीको मुहानप्रतिको आस्थालाई महत्व दिएको देखिन्छ । त्यसैले पानीको उपलब्धता मात्रै सम्पूर्ण नभई त्यसको सरसफाईलाई पनि महत्व दिनुपर्छ भन्ने कुरालाई मनन् गर्दै बुधबार गैर सरकारी संस्था गुथिले पर्यावरणीय प्रणालीको पुनःस्थापनार्थ आकाशे पानी संकलनको भुमिका विषयक अनलाईन अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालमा हालको मौसमलाई हेर्ने हो भने कुनै मौसममा अतिवृति भई वर्षा नै नहुने अवस्था आईसकेको छ । जसको असर तापक्रममा अधिक्तम बृद्धि भईरहेको छ । तथापि यस सम्बन्धि अध्ययन खासै भएको पाइदैन । यसै विषयलाई समेटेर प्रदेश नं. १ र बागमती प्रदेशमा १९८० देखि २०१९ सम्म यस क्षेत्रमा वर्षा र बढ्दो तापक्रमको स्थिति बारे अध्ययनले देखाएको छ । गत ४० वर्षको तापक्रम र वर्षात सम्बन्धि विभिन्न स्थानमा रहेको स्टेसनबाट तथ्याङ्क संकलन गरि गरिएको अध्ययनलाई अनुसन्धानकर्ता अमिताब बज्र बज्राचार्यले प्रदेश नं १ मा प्रत्येक वर्ष ०.०२५८ डिग्री र बागमती प्रद्रेशमा ०.०३२ डिग्रीका दरले तापमानमा वृद्धि भईरहेको जानकारी दिए । वर्षातको स्थिति हेर्ने हो भने प्रद्रेश नं. १ मा ६.४५ मिमि र बागमतीप्रदेशमा १.३४५ मिमि का दरले घट्दै गईरहको तथ्यलाई उजागर गर्दै यस्तै स्थिति कायम रहे पानीको सतह घट्दै जाने र खडेरी पर्ने सम्भावना अधिक रहन जानकारी दिदै समयमै सचेत हुन बज्राचार्यले आग्रह गरे ।
नेपालका बढी जसो कृषि आकासे पानीमा निर्भर रहेको छ । प्रदेश नंं १ मा १.५५५ मिमि र बागमती प्रदेशमा ०.३५०१ मिमि दरले मनसुन घटदै गईरहेको अध्ययनले देखाएको छ भने मनसुन अघिको वर्षातको तथ्याङ्क हेर्दा प्रि मनसुनमा प्रदेश नं १ मा ०.०५७१ मिमि र बागमती प्रदेशमा ०.२५७ मिमि का दरले वर्षातमा वृद्धि भएको देखाउँछ । बिना मौसमको वर्षातले बालीचक्रमा असर गर्नुका साथै विनासकारी किराहरुका लागि अनुकुल भई लगाएका बालिहरुलाई क्षति पु¥याँउने सम्भावना प्रवल हुन जान्छ भने शहरी बाढीको जोखिम पनि उतिक्कै रहन्छ । वर्षात अधिक हुने स्थानको अध्ययन गरि आकाशे पानीलाई पुनःभरण गर्ने हो भने शहरी बाढीलाई नियन्त्रण गर्न सकिने पनि बज्राचार्यले जानकारी दिए ।
परम्परागत ढुङ्गेधारा र पोखरीहरु आकाशे पानीमा निर्भर रहेको र आकाशे पानी रिचार्जका लागि महत्वपूर्ण प्रणाली भएको समिप नारायण श्रेष्ठले बताए । उनको अध्ययनअनुसार काठमाडौं महानगरपालिका वडा नं. १४ मा औषतमा प्रति घरधुरि १३८.४२ वर्ग मिटरको छत रहेको जुन आकाशे पानी संकलनका लागि पर्याप्त रहेको छ । उनले का.म.पा. वडा नं. १४ का बासिन्दाहरुले विभिन्न पानीको श्रोतको प्रयोग गर्दै आएको र ५४.९० प्रतिशत घरहरुमा आकाशे पानी बैकल्पिक रुपमा प्रयोग गर्दै आएको जानकारी दिए ।
आकाशे पानी संकलन प्रविधि भन्दा इनार निर्माण वातावरणीय तथा लागतको हिसावले लाभदायि नभएको देखिन्छ । ईनार निर्माण गर्न करिब १ लाख १२ हजार सम्मको लागत पर्दछ भने आकाशे पानी संकलन प्रविधि निर्माण गर्न ७० देखि ८० हजार मात्र पर्न जान्छ । वार्षिक एक घर धुरिलाई ९४,००० लि.आकाशे पानी संकलन प्रविधि निर्माण गर्दा लाग्ने लगानी करिव दुई वर्ष पानी टयांकरबाट किन्नु पर्ने रकम बचत गर्न सकिन्छ ।
७० प्रतिशत भन्दा बढी वर्षात मनसुनमा हुने भएकोले त्यस समयको वर्षातलाई संकलन गर्न सके पाईप लाईनमा पनि धेरै पैसा खर्च गर्न नपर्ने र जमिन पुनःभरण गरेर पानीको श्रोतको सतहमा पनि वृद्धि गर्न सकिने कुरा आफ्नो प्रस्तुतिकरणमा श्रेष्ठले प्रस्तुत गरे ।
कार्यक्रममा काठमाडौँ महानगरपालिका शहरी विकास योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले महानगरपालिकाले रिचार्ज काठमाडौं अन्तर्गत पानी पुनःभरण र शहरी बाढी रोक्न मुख्य गरी दुई योजना संचालनमा आइसकेको जानकारी दिए । उनले यही योजना अन्तर्गत निर्माण गरिएको जमिन पुनःभरण संरचनाले पानीको सतह बढाएको र बाढीको समस्यालाई पनि समाधान गर्न सफल भएको बताउदै यही योजना हाल का.म.पा. वडा नं. ५ को वडा कार्यालय भवनमा र वडा नं. १ मा अवस्थित विद्यालयमा सफल्तापूर्वक परिक्षण गरिएको जानकारी दिए ।
‘‘आकाशे पानी संकलन सम्बन्धि जनचेतना समुदाय स्तरसम्म पु¥याउनु पर्छ र विभिन्न अध्ययन तथा तथ्याङ्कका आधारमा आकाशे पानी सङ्कलन सम्बन्धि नीति नियम कार्यान्वय गर्नु पर्दछ । हाल महानगरपालिकाले मेयर रिसर्च फेल्लोशिपको पहिलो सत्र सम्पन्न भैसकेको र चाँडैनै दोस्रो सत्र ल्याउन लागेकोले आकाशे पानी संकलन सम्बन्धि अध्ययनका लागि प्रस्ताव पेश गर्न आह्वान गर्दछु ।’’ बस्नेतले भने ।
काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. सन्जीव विक्रम राणाले आकाशे पानी संकलन प्रविधि विज्ञान सम्मत हुन जरुरी भएको बताए । उनले जमिनको स्थितिलाई अध्ययन गरेर मात्र जमिन पुनःभरण गर्नु पर्ने अवस्थाको चित्रण गर्दै यसको लागि बोर्डले जमिनको पानीको म्यापिङ गर्दै आएको र उक्त प्रतिवेदन चाडै नै तयार हुने कुरा कार्यक्रममा बताउँदै महानगरले रिचार्ज काठमाडौंलाई बैज्ञानिक रुपमा संचालन गर्न आवश्यक रहेको धारणा राखे । ‘‘आकाशे पानी संकलन शहरको ढल व्यवस्थापन र शहरी बाढी न्यूनिकरणका लागि महत्वपूर्ण हुनेछ ।’’ डा. राणाले भने ।
आयोजना प्रमुख ज्ञानेश बज्राचार्यले हालै सम्पन्न बागमती नदी वेसिनमा गरिएको आकाशे पानी संकलन र जमिन पुनःभरण परियोजनाको प्रारम्भिक अवस्थामा ९१.८% घरधुरीले यस प्रविधिमा कुनै उत्साह देखाएका थिएनन् तर यस परियोजनाको लक्ष्य २५०० घरमा आकाशे पानी संकलन र जमिन पुनःभरण गर्ने रहेता पनि २१३४ घरमा निर्माण सम्पन्न गरिसकेको छ । यस परियोजना संचालनको अवधिमा विशेष गरी महिलाहरुको सहभागिता रहेको र १९१ प्रशिक्षण संचालन गरिएको जानकारी दिए ।
कार्यक्रममा पुर्व वातावरण तथा विज्ञान मन्त्री गणेश शाहले पानीको प्रत्येक थोपा महत्वपूर्ण रहेको र आकाशे पानी पानीको महत्वपूर्ण स्रोत भएको बताए । उनले हाल वर्षातका कारण विश्वभर खतरा बढेको र नेपालमा पनि मनसुनको सुरुवात संगै विभिन्न ठाउँमा बाढी पहिरोले ठुलो धनजनको क्षति गरेको तर्फ ईगित गर्दै यस्तो दैविय प्रकोपको रोकथामका लागि आकाशे पानी संकलन र जमिन पुनःभरणको बैज्ञानिक प्रविधिको विकासले केही सहजिकरण गर्न सक्ने जानकारी दिए ।
‘‘सरकारले प्रत्येक सरकारी भवन, विद्यालय र संयुंक्त वसोवास क्षेत्रमा आकाशे पानी संकलन र पानी पुनःभरण प्रविधि जडान गर्न जरुरी भएको र यस क्षेत्रको विकासका लागि दक्ष मानव जनशक्ति उत्पादन गर्न ढिलो गर्न हुदैन ।’’ शाहले भने ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३