तीन पटकको च्याम्पियन स्पेन १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोपनहेगनमा सोमबार राति भएको प्रि-क्वाटरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले पराजित गर्दै स्पेनले अन्तिम आठमा स्थान बनाएको हो । स्पेनलाई जित दिलाउन पाब्लो सराबिया,सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयार्जाबलले एक एक गोल गरे ।
क्रोएसियाका मिस्लाभ ओर्सिच र मारियो पासालीचले एक एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । पार्केन एरिनामा सुरुवाती अग्रता क्रोएसियाले अग्रता बनाएको थियो । क्रोएसियाले २० औं मिनेटमा आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाएको थियो । पेड्रीको ब्याक पासमा स्पेनका गोलकिपर उनाई सिमोनले आत्मघाती गोल गरेका थिए । तर, खेलको ३८ औं मिनेटमा सराबियाले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा ल्याए । अल्भारो मोराटाको प्रहार क्रोएसियाका गोलकिपर डोमिनिकले रोकेपछि प्राप्त रिबाउन्डमा सराबियाले गोल गरेका हुन् ।
खेलको ५७ औं अज्पिलिकुइटाले गोल गर्दै स्पेनलाई २-१ गोलको अग्रता दिलाए । उनले फेरान टोरेसमा क्रसमा हेडमार्फत गोल गरेका हुन् । डिफेन्डर अज्पिलिकुइटाको यो स्पेनको लागि पहिलो गोल हो । खेलको ७७ औं मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई ३-१ को अग्रता दिलाए । उनले पाउ टोरेसको पासमा सहजै गोल गरे । ८५ औं मिनेटमा क्रोएसियाका परिवर्तित खेलाडी मिस्लाभले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए । उनी ६७ औं मिनेटम एन्टी रेबिकको स्थानमा मैदान प्रवेश गरेका थिए ।
खेलको इन्जुरी समयको दोस्रो मिनेटमा क्रोएसियाका परिवर्तित खेलाडी मारियोले गोल गर्दै खेल ३-३ को बराबरीमा ल्याए । उनले मिस्लाभको पासमा हेडरमार्फत गोल गरेका थिए । मारियो ७९ औं मिनेटमा निकोलाको स्थानमा मैदान प्रवेश गरेका थिए ।
निर्धारित समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटको अतिरिक्त समयमा स्पेनले दुई गोल गर्यो ।
खेलको १०० औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई ४-३ को अग्रता दिलाए । डानिल ओल्मोको पासमा उनले गोल गरे ।त्यसपछि खेलको १ सय ३ औं मिनेटमा मिकेलले ओल्मोकै पासमा गोल गर्दै स्पेनलाई ५-३ गोलको रोमान्चक जित दिलाए ।
यससँगै स्पेन क्वाटरफाइनलमा पुग्ने पाँचौं टिम बनेको छ । क्रोएसिया भने अन्तिम १६ बाट बाहिरिएको छ ।अब स्पेनले अन्तिम आठमा फ्रान्स र स्विट्जरल्यान्डबीचको विजेतासँग खेल्नेछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३