काठमाडौं – कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाउने तयारी गरिएको छ । स्वास्थ्यसँग सम्बन्धित निकायले काठमाडौं उपत्यकालाई ‘रेड जोन’मा राखेको भन्दै उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रसासन कार्यालयले जारी निषेधाज्ञालाई थप कडाइ गर्ने तयारी गरेका हुन् ।
‘काठमाडौं कोरोना संक्रमण बढ्दो छ, हामीले अनुगमन टोली नै गठन गरेर स्वास्थ्य मापडण्ड पालना भए नभएकोबारे अनुगमन गर्दै आइरहेका छौं, पछिल्लो अवस्थाकोसमेत विश्लेषण गर्ने काम हुँदै छ, आमसर्वसाधारणलाई जथाभावी भीडभाड नगर्न, मास्कको प्रयोग गर्न र बिनाकाम घरबाहिर ननिस्कनसमेत आग्रह गरिरहेका छौं,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले राजधानीसँग भने ।
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म काठमाडौंमा ८ हजार ५ सय ७९, ललितपुरमा १ हजार ३ सय १९ र भक्तपुरमा १ हजार ९ सय १८ संक्रिय संक्रमित छन् । काठमाडौंमा परीक्षण गरिएकामध्ये २५ देखि ३० प्रतिशतलाई संक्रमण पुष्टि हुन थालेको छ ।
प्रमुख जिल्ला अधिकारी पराजुलीले संक्रमणको दर कम हुनेभन्दा बढ्दो गतितर्फ रहेकाले प्रसासनले थप संक्रमण दरको समीक्षा गर्दै निषेधाज्ञाको कडाइमा आवश्यक निर्णय लिने तयारी गरिरहेको जानकारी दिए ।
‘संक्रमणको आगामी तथ्यांकको विश्लेषण गरेर कस्तो मोडालिटीमा नियोधाज्ञालाई अघि बढाउने भन्ने तय गर्छौं,’ प्रमुख जिल्ला अधिकारी पराजुलीले भने ।
हाल भने काठमाडौं प्रसासनले राति ८ बजेबाट सवारी साधन सञ्चालनमा रोक लगाइसकेको छ । रातिको समयमा भेटघाट बढी हुने भएकाले प्रशासनले यस्तो निर्णय गरेको हो । यो समाचार राजधानी दैनिकमा छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७