चितवन – जिल्लामा दसैँदेखि तिहारसम्म ३० हजारभन्दा बढी खसीबोका खपत हुने अनुमान गरिएको छ । जिल्लाको उत्पादन ८० प्रतिशत यही खपत हुने गर्दछ भने बाँकी छिमेकी जिल्लाबाट ल्याउने गरेको तथ्याङ्क छ ।
भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र भरतपुरको तथ्याङ्कअनुसार जिल्लामा मुख्य चाडपर्वको समयमा दैनिक एक हजार ५०० हाराहारी खसीबोका खपत हुने अनुमान छ । कार्यालयका पशु विकास अधिकृत रामचन्द्र आचार्यका अनुसार दसैँ र तिहारको एक महिनाको समयमा ४६२ मेट्रिकटन खसीबोकाको मासु र ३९ मेट्रिक टन च्याङ्ग्राको मासु खपत हुने अनुमान छ ।
जिल्लामा ४०२ व्यावसायिक बाख्रा फर्म छन् । ती फर्ममा तीन लाख १० हजार ५१७ बाख्रा रहेको आचार्य बताउछन् । तीमध्ये दुई लाख १७ हजार ३६१ खसीबोका रहेका छन् । ठूलो सङ्ख्यामा खसीबोका जिल्लामा उत्पादन भए पनि यहाँ छिमेकी जिल्लाबाट समेत खसीबोका आउने गरेको उनकाे भनाइ छ । उनले भने, “८० प्रतिशत यहीको उत्पादन र बाँकी बाहिरबाट खसीबोका आउने गर्दछ ।” त्यसो त यहाँ उत्पादन भएका खसीबोका विभिन्न जिल्ला पुग्ने गर्दछन् ।
जिल्लामा वार्षिक दुई हजार ६८६ मेट्रिक टन खसीबोकाको मासु उत्पादन हुने तथ्याङ्क छ । अघिल्लो वर्ष कोभिडका कारण कम खपत भएको थियो । विगतका वर्षमा दसैँ तिहारको समयमा ३१ हजार ८०० खसीबोका काटिएको तथ्याङ्क छ । आचार्यका अनुसार यस वर्ष त्योभन्दा बढी खसीबोका खपत हुने अनुमान छ ।
दसैँ तिहारको समयमा पसलमाभन्दा बढी घरघरमा खसीबोका काट्ने गरिन्छ । यो समयमा पसलमा मात्रै १० हजारभन्दा बढी खसीबोका खपत हुने व्यवसायीले बताएका छन् । खसीबोका मासु व्यवसायी सङ्घ चितवनका अध्यक्ष उद्धव तिम्सिनाले घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको अवधिमा धेरै कारोबार हुने अपेक्षा गरिएको बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३