तनहुँ – बच्चा, यूवायूवती देखि बृद्धबृद्धा सम्म सबैले प्रयोग गर्ने दूधमा फस्टाएको कालो धन्दा र मिसावटले उपभोक्ताहरु मारमा परेका छन् भने स्वास्थ्यमा पनि गम्भिर असर पुगेको छ । विशेष गरेर दुधको व्यवसाय गर्दै आएकाहरुले गाइ र भैसीको दुध मिसावट गर्ने, पानी हाल्ने, बाक्लो बनाउनका लागि मैदा, पिठो र एसएमडी पाउडर हाल्ने गरेको प्रमाणहरु भेटिएका छन्।
दमौलीमा सञ्चालन गरिएका करिव २५ वटा डेरी पसलहरु मध्ये प्रायःजसोले दुधमा पानीको मात्रा मिसावट गर्ने गरेको उपभोक्ताको गुनासो छ । शुद्ध दुध भनेर डेरी पसलेहरुले चर्को मूल्यमा दुध विक्री गर्ने तर दुधको गुणस्तर निकै कमसल र पातलो भएको गणेशमान चोककी गृहिणी सोविता थापाले बताइन् । बच्चाहरुले डेरीको दूधमा नमिठो गन्ध भएको बताउँदै खान नमानेको पनि उनको भनाई छ । दुधमा मिसावट भएका कारण दुधको गुणस्तरमा कमी आएको उपभोक्ताको गुनासो छ । मिसावटयुक्त दुध सेवन गर्दा वाकवाकी हुने, पेट दुख्ने, झाडापखाला, आउँ लगायतका स्वास्थ्य समस्याहरु हुने गरेको चिकित्सकले बताएका छन् ।
भादगाउँकी गृहिणी भगवती शर्माले भादगाँउको एक डेरीबाट ल्याएको दुध निकै बाक्लो देखिएको र शंका लागेर दही बनाउँदा मैदाको पिठो जस्तै लरर भएकोले त्यसबारेमा पसलेसंग गुनासो गरेको बताइन् । पसलेले विभिन्न कृषकहरुले आफ्नो डेरीमा दुध बिक्री गर्ने गरेकोले कसैले बदमासी गरेको हुन सक्ने स्वीकार गर्दै त्यसबारेमा अनुसन्धान गर्न सहमति भएको गृहिणी शर्माले बताइन् । त्यस्तै कतिपय दुधका उपभोक्ताहरुले दुधमा हुनुपर्ने बाक्लोपन र चिल्लोपन (फ्याट) नभएको बताउँदै अत्यधिक पानी मिसावट भएको आशंका गरेका छन् ।
दमौलीमा मिठाइ पसल सञ्चालन गरेका एक हलुवाईले पहिलाको जस्तो शुद्ध दुध पाइन छाडेको बताउँदै मिसावट र कम गुणस्तरका दुधबाट बन्ने रसवरी, बर्फी, लालमोहन, पेडा, दुध मलाई लगायतका परिकारहरुको गुणस्तरमा पनि कमी आएको बताए । हुर्कदै गरेका बच्चा देखि गर्भवती, सुत्केरी र बृद्धबृद्धाहरुका लागि अमृत समान मानिएको दुधमा भएको मिसावटले सबैलाई चिन्तित बनाएको आम उपभोक्ताको गुनासो छ । र यस्ता अमानवीय कार्यमा संलग्न हुने दोषीहरुलाई कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने उनीहरुको सुझाव छ ।
एक तथ्याड्क अनुसार तनहुँमा २४ वटा दुग्ध उत्पादक सहकारी संस्थाहरु स्थापना भई दुधको व्यवसाय गर्दै आइरहेका छन् भने सयौंको संख्यामा डेरी पसलहरु खुलेका छन् । जिल्लामा दुग्ध उत्पादक सहकारी संस्थामा मात्रै २ हजार ५ सय कृषकहरु सदस्य छन् भने उनीहरुमा आश्रितको संख्या करिव १२ हजार रहेको छ ।
यसैबीच, उपभोक्ताहरुले प्रतिलिटर ८० रुपैंयामा खरिद गर्ने दुधको मूल्यमा पनि निकै असन्तुलन देखिएको छ । दुधको विक्री मूल्य ८० रुपैंया प्रतिलिटर भएतापनि कृषकहरुले सरदरमा ५८ रुपैया मात्र पाउने गरेका छन् । व्यवसायीहरुले प्रतिलिटर दुधमा करिव २०–२२ रुपैया मुनाफा कमाउँदै आएका छन् जुन ३५ प्रतिशत बढि आउँछ । यतिका धेरै मुनाफा हुँदा पनि व्यवसायीहरुको कालोधन्दाको मारमा कृषकदेखि उपभोक्ताहरु परेका छन् ।
तनहुँ दुग्ध उत्पादक सहकारी संघका पूर्व अध्यक्ष अम्मर बहादुर कुँवरले आफ्नो सहकारी अन्तर्गतका कुनै पनि व्यवसायीबाट यस्तो कार्य नभएको ठोकुवा गर्दै दुधमा कालोधन्दा र मिसावट गर्नेलाई कारवाही हुनुपर्ने बताए । आफ्नो सहकारीबाट उत्पादित दुधमा ३ देखि ४ प्रतिशत फ्याट रहेको र सोही अनुसार क्रमश मूल्य कायम गरिएको अध्यक्ष कुँवरले बताए । आफ्ना अधिकाँश उत्पादनहरु प्याकेजिड गरेर विक्री हुने गरेकाले त्यसमा कुनै शंका नगर्न पनि उनले उपभोक्ता संग आग्रह गरेका छन् । व्यक्तिगत र खुला रुपमा दुधको व्यवसाय गर्नेहरुले यस्तो बदमासी गरेको हुनसक्ने उनको ठम्याई छ ।
यसैबीच, पशु चिकित्सक बाबुराम जम्मरकट्टेलले गाइभैंसीलाई थुनेलो भएको, विरामी भएको र औषधी खुवाएको अवस्थामा दुधमा खरावी हुनसक्ने भएकाले सो समयमा दुधको प्रयोग गर्न नहुने बताएका छन् ।
व्यक्तिगत रुपमा घरमा पालेको भैंसी र गाइको शुद्ध दुध भनेर घरघरमै दुध पुर्याउने कृषक र व्यवसायीहरुले पनि दुधमा मिसावट गर्ने गरेका छन् । डेरी पसलबाट खरिद गरि उपभोक्तालाई बिक्री गरेर सिधै ठग्ने गरेका पनि प्रशस्त प्रमाणहरु भेटिएका छन् ।
दैनिक जीवनको अभिन्न अंग देखि विभिन्न परिकार बनाउन प्रयोग हुने सेतो दुधमा फस्टाएको कालो धन्दा प्रति सम्पूर्ण उपभोक्ताहरु सतर्क हुनु जरुरी छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३