काठमाडौँ – नेपाली कांग्रेसका नेता गगन थापाले एमालेसँग एक्लै चुनाव लडेरै कांग्रेसले बहुमत ल्याउने दाबी गरेका छन् । भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा नेता थापाले एक्लै चुनाव लड्न आउन एमाले अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरूले दिएको चुनौतिको जवाफ दिए ।
‘सिंगल–सिंगल चुनाव लड्न आउन भनेको होइन ? पहिले पनि सिंगल नै लडेर कांग्रेस सबैभन्दा ठूलो पार्टीको भएको थियो । अब त झन् एमालेलाई कुचो लगाएर बढार्ने हो । कतै धुलो अड्केको रहेछ भने भ्याकुम लगाउने हो’, थापाले भने ।
एमालेलाई केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचनमा बढार्ने थापाले दाबी गरे । ‘पाँच वर्ष आरामले सरकार सञ्चालन गर्नुपर्नेमा राज्य अस्तव्यस्त बनाउने काम भयो । त्यसकारण एमालेले दण्ड पाउनैपर्छ,’ गगनले भने ।
थापाले एमाले पार्टी नभई ओली कम्पनी लिमिटेड भएको आरोप लगाए ।
‘फरक मत राख्ने भीम रावल र घनश्याम भुसाल छन् । विचरा भीम रावल देख्दा माया लागेर आउँछ । फरक मत राख्नेलाई ओलीले कुन दिन पार्टीबाट निकाल्छन,’ उनले भने, ‘त्यो नेकपा एमाले होइन, ओली प्राइभेट लिमिटेड हो । ओली प्राइभेट लिमिटेडले दण्ड पाउनैपर्छ ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३