खोटाङ – संस्थागत जनगणनाका लागि खोटाङमा सुरक्षाकर्मीलाई गणकको रुपमा परिचालन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतका निकायको संस्थागत जनगणनाका लागि तीन जना सुरक्षाकर्मीलाई गणकका रुपमा परिचालन गरेकाे जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी जितबहादुर कोईराला (जेबी)ले बताए ।
जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरीचौकीमा रहेका प्रहरीको जनगणनाका लागि नेपाल प्रहरी कै एक जना जवानलाई खटाएको छ । यस्तै, सशस्त्र प्रहरीको गुल्म र बेस क्याम्पमा रहेका सशस्त्र प्रहरीको जनगणनाका लागि सशस्त्र प्रहरीकै जवानलाई जिम्मेवारी दिएको छ । नेपाली सेनाको गणभित्रको जनगणना पनि सेनाकै एक जवानमार्फत भइरहेको जनगणना अधिकारी कोईरालाले बताए ।
जिल्ला कारागार दिक्तेलभित्र रहेका कैदी तथा बन्दीको जनगणनाको जिम्मा पनि नेपाल प्रहरी कै जवानलाई दिएको छ । यस्तै, कृषिविज्ञ मदन राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा डाँडागाउँमा स्थापना गरेको शुभद्रा–मदन फाउण्डेसनमा आवासीय अध्ययन गरिरहेका शिक्षक-विद्यार्थीको गणनाका लागि सशस्त्र प्रहरीको जवानलाई खटाइएको छ । संस्थागत जनगणना गर्ने सुरक्षाकर्मीलाई पनि अन्यलाई सरह नै तालिम दिएकाे कोईरालाले बताए । धेरै ठाउँबाट एकै ठाउँमा भेला भएर एउटै भान्छामा खाना खाने व्यक्तिलाई संस्थागत अन्तर्गत गणना गर्ने व्यवस्था छ ।
२५ कात्तिकदेखि ९ मंसिरसम्म सञ्चालन हुने जनगणनाका लागि खोटाङमा दुई सय ९० गणक खटाइएकाे छ । ‘कोही नछुट्ने र कोही नदोहोरिने गरी अक्सर बसोबास गर्ने परिवारका अक्सर बसोबास गर्ने सम्पूर्ण व्यक्तिको’ गणना मुख्य प्रश्नावलीमार्फत सुरू गरिएको जनगणना अधिकारी कोईरालाले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३