काठमाडौं – नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार ९९ नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका छन् । बुधबार राति ६३ महिला र ३६ पुरुष गरी ९९ नेपाली श्रमिक इजरायल प्रस्थान गरेका हुन् ।
इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा उनीहरु रोजगारीका लागि इजरायल गएका हुन् । यसपछि यही माघ १५ र १६ गते दुई उडानमार्फत थप श्रमिक इजरायल जानेछन् । वैदेशिक रोजगार विभागले गत कात्तिकमा ५०० र मङ्सिरमा ६७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो ।
छनोटमा परेका एक हजार १७५ मध्ये ८२१ महिला र ३५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो । नेपाली श्रमिकले इजरायलमा मासिक करिब रु दुई लाख पारिश्रमिक पाउनेछन् । उनीहरुले इजरायली श्रमिकसरहको पारिश्रमिक, बिदा र स्वास्थ्योपचार सुविधा प्राप्त गर्ने काठमाडौँस्थित इजरायली दूतावासले जनाएको छ ।
इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भई पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत हनान गोदारले बिदाइ गरे ।
पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकलाई शुभकामना दिँदै मन्त्री श्रेष्ठले नेपालको प्रतिष्ठा उँचो पार्ने गरी अनुशासित भएर काम गर्न आग्रह गरे । सो अवसरमा नेपालका लागि इजरायली राजदूत गोदारले नेपाली श्रमिकले नेपाली परिवार र इजरायली परिवारबीच सेतुका रुपमा भूमिका निर्वाह गर्ने बताए । दूतावासले इजरायल प्रस्थान गरेका नेपाली श्रमिकको इजरायल बसाई फलदायी रहोस् भनी कामनासमेत गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३