काठमाडौं – प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ः३० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
अमेरिकाले अघि सारेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को चर्चा यतिवेला उत्कर्षमा छ । कार्यान्वयन हुन संसदबाट पारित गर्नुपर्ने प्रावधानका कारण सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर संसद् सचिवालयमा दर्ता गरेको अढाइ वर्षभन्दा बढि भइसकेको छ ।
आज पनि अमेरिकी सहयोग परियोजना प्रतिनिधिसभाको बैंठकमा एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी आजै टेबुल गर्नुपर्ने प्रस्ताव गरेको छ ।
मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल गर्ने समझदारी बनेको दाबी छ। तर आजै नै पारित गर्ने या नगर्ने भन्ने विषय भने अझै टुंगो लागेको छैन ।
एमसीसीअन्तर्गत अमेरिकाले नेपालको विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिका लागि घोषणा गरेको ५० करोड अमेरिकी डलर (५७ अर्ब रुपैयाँ) अनुदान परिचालन गरिने सम्झौतामा उल्लेख छ। । यो परियोजना पाँच वर्षभित्र पूरा गर्नैपर्ने, अन्यथा रकम फिर्ता गर्नुपर्ने प्रावधान छ । उक्त परियोजनालाई हामीले अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणमा खर्च गर्ने योजना बनाएको छ ।
२०७४ भदौमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकाको वाशिङ्गटन पुगेर ८० पृष्ठ लामो जुन दस्तावेजमा हस्ताक्षर गरेका थिए । उक्त सम्झौतामा नेपालको काठमाडौें लप्सीफेदीबाट नुवाकोटको रातमाटे, दमौली हुँदै नवलपरासी र सुनवलसम्म ३१२ किमि प्रसारण लाइन निर्माण हुने छ । सडकतर्फ भालुवाङ (दाङ)–लमही (दाङ) २७ किमि, चन्द्रौटा (कपिलवस्तु)–भालुवाङ ३५ किमि र लमहीबाट शिवखोला (दाङ) ३७ किमि सडक स्तरोन्नति हुनेछ।
तर, नेपालमा एमसीसीको विरोधमा राजनीतिक पार्टी र नागरिक समाज पनि विभाजित भएका छन् । सरकारले एमसीसी प्रतिनिधिसभामा पेश गर्ने तयारी गरेपछि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ५ दलले विरोध जनाउदै आज नेपाल बन्दको आवहान गरेका छन् ।
बुधबार बन्दको घोषणा नै गरेका ती दलले बिहीबारदेखि थप सशक्त आन्दोलनको कार्यक्रम तय गर्ने बताएका छन् । एमसीसीले राष्ट्रिय स्वाधीनता माथि खतरा निम्त्याउने पनि जिकिर गरिएको छ । विज्ञप्ति जारी गर्नेमा नेपाल कम्युनिस्ट पार्टीसहित, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) माओवादी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, ऋषि कट्टेलको नेकपाका साथै देशभक्त जनगणतान्त्रिक मोर्चा रहेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३