काठमाडौं – नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले प्रश्न उठेका विषयमा संसदबाट व्याख्यात्मक घोषणासहित एमसीसीको पक्षमा मत दिने सहमति भएको छ ।
एमसीसीकै कारण गठबन्धन टुट्ने सम्भावना बढेपछि माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु गठबन्धन जोगाउने गरी एमसीसीको पक्षमा मत दिने सहमतिमा आएका हुन्।
प्रधानमन्त्री शेर बहादुर देउवाले नेकपा एमालेका अध्यक्षसंग सहमतिका लागि गरेको वार्तादेखि माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता सशंकित थिए। यसैको परिणाम स्वरुप नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले संसदबाट व्याख्यात्मक घोषणासहित एमसीसीको पक्षमा मत दिने सहमति गरेका हुन्।
यसअघि अर्थ मन्त्रालयले लेखेको पत्रकमा एमसिसी मुख्यालयले दिएको जवाफी प्रष्टीकरणलाई सम्झौताको अंगका रुपमा समावेश गरी एमसिसी अनुमोदनको सहमति जुटेको माओवादी केन्द्रका एक नेताले बताए ।
खास गरी एमसिसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएको र विशुद्ध विकास परियोजना भएको विषय व्याख्यात्मक टिप्पणीमा राख्न प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेस नेताहरु सहमत भएका छन् । यस्तै एमसिसी नेपालको कानूनसँग बाझिए नेपालकै कानून माथि हुने र नेपाली लेखा परीक्षकबाटै लेखा परीक्षण गरिने विषय पनि टिप्पणीमा राखिने भएको छ ।
माओवादी र समाजवादी ती विषयमा संशोधन गरेर मात्र एमसिसी पारित गर्नुपर्ने अडानमा थिए । काँग्रेससँगको सहमति अनुमोदनका लागि माओवादी र समाजवादीले आइतबार प्रतिनिधिसभा बैठकअघि आ–आफ्नो दलको बैठक बोलाएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा एमसिसीसम्बन्धी प्रस्ताव पेश हुनेछ । त्यसबारे भोलि नै दलीय आधारमा सांसदहरुले सैद्धान्तिक छलफल गर्नेछन् । सोमबार एमसिसी अनुमोदन हुने उच्च सम्भावना रहेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३