काठमाडौँ – २०७२ मा गएको महाभुकम्पका कारण ध्वस्त बनेको बसन्तपुर दरवार क्षेत्रको पुर्ननिर्माण कार्यमा काठमाडौँ महानगरको चरम लापर्वाही देखिएको छ ।
पुरातात्विक महत्व बोकेको बसन्तपुर डबलीमा काठमाडौँ महानगरले आधुनिक कंक्रिटको प्रयोग गर्दै भौतिक संरचना निर्माण गरेको छ । महानगरले संरक्षित स्मारक क्षेत्रभित्र रहेको बसन्तपुर दरवार परिसरको बसन्तपुर डबलीको खुला क्षेत्रमा ३५ फिट अग्ला आठ वटा स्तम्भ बनाई रहेको छ ।
काठमाडौँका विश्व सम्पदा क्षेत्रमा मापदण्डविपरित संरचना निर्माण भइरहेको भन्दै युनेस्कोले खतरा सूचीमा राख्ने चेतावनी दिइरहेको बेला महानगरको यस्तो कार्य माथि ब्यापक विरोध भइरहेको छ ।
पुरातत्व विभागले सम्पदा स्थलको संरक्षण र व्यववस्थापनविपरित निर्माण नगर्नू भनेर सचेत गराउँदा गराउँदै पनि महानगरले अटेर गरेर निर्माण कार्य बढाइरहेको छ । विभागले निर्माण कार्य स्थगित गर्नू भन्दै महानगरलाई पत्र पनि काटिसकेको छ । सम्पदा संरक्षणकर्मीहरुले पनि तुरुन्त निर्माण कार्य रोक्न अनुरोध गर्ने गरेका छन् ।
महानगरकी उप मेयर हरीप्रभा खड्गीले आफूलाई जानकारी बेगर मेयरले एकलौटी रुपमा कंक्रिट निर्माण गरिरहेको आरोप लगाएकी छिन् । उनले यस्ता कंक्रिटका संरचना तत्कालै भत्काउनु पर्ने पनि बताइन् । रानी पोखरीमा सुरुवातमा भएको कंक्रिट निर्माणको कार्य पनि आफ्नै पहलमा रोकेको बताउँदै बसन्तपुरको कंक्रिट स्तम्भ पनि भत्किने उनले बताइन् ।
विश्व सम्पदा क्षेत्र भित्र यस्ता संरचनाहरु निर्माण गर्न नपाउने नियम रहेको छ । कुनै पनि भौतिक संरचना निर्माण गर्नुपरेमा प्राचिन स्मारक संरक्षण ऐन २०१३ अनुसार पुरातत्व विभागसँग स्विकृती लिनु पर्ने प्रावधान छ । तर महानगरले विभागलाई जानकारी समेत गराएको छैन ।
पशुपति क्षेत्रमा बाटो खुलाएर, बौद्धनाथ क्षेत्रमा किला ठोकेर, रानी पोखरी पुर्ननिर्माणमा डोजर चलाएर विवादमा परिसकेका महानगरका मेयर विद्या सुन्दर शाक्य पुनः बसन्तपुर डबलीमा कंक्रिट निर्माण गरेर विवादमा तानिएका छन् । आखिर यस्ता ऐतिहासिक महत्व बोकेका सुन्दर सम्पदालाई कुरुप बनाउने उपाय कसले निरन्तर दिइरहन्छ मेयर शाक्यलाई ?
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३