काठमाडौं – स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच दलको गठबन्धनबीच तालेमल हुने भएको छ । अगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र जनमोर्चाबीच तालमेल हुने भएको हो । कांग्रेसबाहेक अन्य दलहरु सुरुदेखि नै गठबन्धनको पक्षमा उभिएका थिए ।
तर, हिजोमात्रै कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको हो । पछिल्लो समय कांग्रेसमा निर्वाचनमा गठबन्धन गर्न हुने कि नहुने भन्नेबारे बहस चलेको थियो । सभापति शेरबहादुर देउवा सुरुदेखि नै अहिलेको पाँच दलीय गठबन्धनलाई निर्वाचनमा सँगै लिएर जानुपर्ने पक्षमा दृढ रुपमा उभिएका थिए ।
तर, शेखर कोइरालालगायत उनी पक्षधर नेताहरु भने तालमेल गर्न नहुने र कांग्रेस एक्लै चुनावमा जानुपर्ने पक्षमा थिए । पार्टीका विभिन्न फोरममा सभापति देउवाले गठबन्धन नगर्दा कांग्रेसले ठूलो राजनीतिक क्षति व्यहोर्नुपर्ने हुनसक्ने भन्दै गठबन्धनको विरुद्धमा अभिव्यक्ति नदिन नेताहरुलाई आग्रहसमेत गरेका थिए ।
कांग्रेसमा सुरुदेखि नै गठबन्धनको पक्षमा माहोल बनाउन सक्रिय भूमिका खेलेका गृहमन्त्री बालकृष्ण खाँणले यसपटक पनि निर्वाचनमा गठबन्धन बनाएरै जानुपर्नेबारे सकारात्मक भूमिका खेलेका छन् । उनले यो बीचमा गठबन्धनमा आवद्ध दल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का अध्यक्षहरु प्रचण्ड र माधव नेपाललाई निरन्तर भेटवार्ता गरेका थिए ।
सभापति देउवाका विश्वासपात्रसमेत रहेका नेता खाँणको समन्वयकारी भूमिकाबाट प्रचण्ड र माधव नेपालसमेत प्रभावित छन् । उता, उपसभापति पूर्णबहादुर खड्काले पनि चुनावमा अहिलेको गठबन्धनबीच तालमेल गर्नुपर्ने पक्षमा सुरुदेखि नै भूमिका खेलेका थिए । सभापति देउवाले स्थानीय तहको निर्वाचनको कमाण्डरमा खड्कालाई नै तोकेका छन् । यो निर्णयले कांग्रेसभित्र पनि उत्साह प्रदान गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३