खोटाङ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘केपी ओलीको चुनाव चिन्ह त्रिशुल हुन्छ’ भन्दै मजाक गर्ने नेताको हालत पल्टिने बताएका छन् । खोटाङको दिक्तेलमा सनिबार आयोजित सभालाई सम्बोधन गर्ने क्रममा हलेसी महादेवस्थान आएका अध्यक्ष ओलीले सोही ठाउँमा आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा सूर्य र त्रिशुल जोडिएपछि मजाक उडाउँने नेताको हालत पल्टिने बताएका हुन् ।
एमाले छाडेर गएका नेताले ‘केपी ओलीको चुनाव चिन्ह त्रिशुल हुन्छ’ भन्दै मजाक उडाएको उल्लेख गर्दै ओलीले आफूले नभइ उनीहरूलाई शिवजीले त्रिशुल हान्ने बताए । ‘हाम्रो पार्टी छाडेर गएका एक जना कसैले बडो मजाकसँग मलाई के भने भने केपी ओलीको चुनाव चिन्ह अब त्रिशुल हुन्छ । अब सूर्यसँग त्रिशुल पनि जोडिने भो,’ अध्यक्ष ओलीले भने, ‘शिवजीको त्रिशुलको फेला परेपछि यिनीहरूको हालत के होला ? ओलीले अब त्रिशुल पनि हान्छ भने, मैले हान्न पर्दैन त्रिशुल त शिवजीले हान्छन् । शिवजीको त्रिशुल पनि उनीहरूले मलाई जिम्मा लाइदिनुभयो ।’
पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलसहित खोटाङ आएका अध्यक्ष ओलीले पवित्र हलेसीमा अपवित्र गठबन्धनको बारेमा कुनै टिकाटिप्पणी नगर्ने बताए । अध्यक्ष ओलीले पत्नी राधिका शाक्यसहित हलेसीमा दर्शन गरेका छन् । ओलीले हलेसीमा दुई लाख भेटी चढाएको घोषणा पनि गरे । उनले हलेसीको धार्मिक, ऐतिहासिकता र पौराणिकता महत्वका बारेमा पनि चर्चा गरेका थिए ।
हलेसीमा दर्शन तथा संक्षिप्त पत्रकार सम्मेलनपछि अध्यक्ष ओली दिक्तेलमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न माटिकोरे खेलमैदान पुगेका छन् । जनसभाका लागि हजारौं कार्यकर्ता उतारेको एमालेले दावी गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३