काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीले पोखरा महानगरपालिकामा मेयरको दाबी गरेको छ । नेकपा एसले काठमाडौं र पोखरा महानगरपालिकामा मेयरको दाबी गरेको हो ।
आज पोखरा पुगेका श्रममन्त्री किसान श्रेष्ठले आफ्नो पार्टीले पोखरामा मेयरको दाबी गरेको खुलासा गरेका हुन् । ‘काठमाडौं र पोखरामा तत्कालीन नेकपा एमालेले जितेको हो, त्यसैले हाम्रो यी दुई महानगरपालिकामा मेयरको दाबी हुन्छ,’ श्रेष्ठले भने, ‘कम्तिमा पोखरा महानगरपालिकाको नेतृत्व लिएर अगाडि बढ्छौं ।’
पोखरामा नेकपा एसले धनराज आचार्यलाई अगाडि सार्ने तयारी गरेको छ । आचार्यलाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आवश्यक तयारी गर्न भनिसकेको बुझिएको छ । आचार्य विद्यार्थी राजनीति देखि नै एमालेमा सक्रिय थिए । एमाले फुटेपछि उनी नेकपा एसमा लागेका हुन् ।
सत्ता गठबन्धनमा ६ वटा महानगरपालिकामा मेयरको उम्मेदवारी संयुक्त रुपमा दिंदा नेकपा एसले पोखरा महानगरपालिका पाउने उनको भनाई थियो । ६ वटा महानगरपालिकामध्ये एउटा पनि नपाउने भएमा गठबन्धनको औचित्य नहुने समेत बताए ।
मन्त्री श्रेष्ठले ३० वैशाखमा बाकस खोल्दा नेकपा एमाले नराम्रोसँग पराजित हुने ठोकुवा गरे । उनले भने, ‘वैशाख ३० गते बाक्सा खोलेपछि बामालेहरु कहाँ पुग्छन् हेर्दै जानुहोस् ।’
ओलीलाई धुन्धकारी संज्ञा दिदै भने, ‘यस्ता धुन्धकारी निस्किए कि हेर्दै जानुहोस् बामालेहरु कहाँ पुग्नेछन् ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७