नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको घोषणा–पत्र गाली पुराण भएको टिप्पणी गरेका छन् । मनमोहन अधिकारीको २३ औ स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले मंगलबार ललितपुरमा आयोजन गरेको कार्यक्रममा उनले एमालेमाथि तथानाम गाली गरेर कांग्रेसले घोषणापत्र जारी गरेको टिप्पणी गरेका हुन् ।
कांग्रेसको घोषणा–पत्रमा संविधाननको केही विषय राखिएको र बाँकी बुँदाहरु एमालेको घोषणा–पत्रबाट चोरिएको उनले आरोप लगाए । उनले कांग्रेसको घोषणापत्र जनताले नपढ्ने भन्दै कांग्रेस चिन्नका लागि पनि एमाले कार्यकर्ताहरुले उसको घोषणा–पत्र पढ्नुपर्ने जिकिर गरे ।
उनले कांग्रेसले राजनीतिक पार्टीको चरित्र नै गुमाउन लागेको तर्क गरे । त्यस्तै ओलीले माओवादीले घोषण–पत्र निकाल्नै नसकेको र नेकपा एकीकृत समाजवादीको घोषणा–पत्र झुटको पुलिन्दा भएको बताए । उनले टिकट वितरणमा देखिएका विषयलाई लिएर संयमता नगुमाउन आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
एमालेमा नातावाद र कृपावाद नरहेको स्पष्ट पार्दै उनले सबै नेता तथा कार्यकर्तालाई यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन र एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
अध्यक्ष ओलीले मनमोहन अधिकारीले अनेक दुःखकष्ट सहेर भएपनि नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाएको स्मरण पनि गरे । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहनको विचारसँग निर्देशित हुँदै र आदर्शलाई पछ्याउँदै एमाले अगाडि बढ्नपर्नेमा जोड दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३