प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको आज औपचारिक उद्घाटन गरेका छन् । विमानस्थलको आज भैरहवामा उद्घाटन गर्दै उनले मुलुकको पर्यटन र दीगोे आर्थिक विकासको आधार तयार भएको बताए ।
उनले विमानस्थल सञ्चालनमा आएसँगै पर्यटकको आवागमन बढ्ने विश्वास पनि व्यक्त गरे । प्रधानमन्त्री देउवाले नेपाल पर्यटनका अधिक सम्भावना रहेको देश भएकाले सम्भावना र गौतमबुद्धको जन्मस्थल लुम्बिनी बारेको सन्देश संसारमा पुर्याउन यो विमानस्थल सहयोगीसिद्ध हुने पनि बताए । गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध विमानस्थलले पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताए ।
उनले कोभिड महामारीका कारण विमानस्थल निर्माणमा केही ढिलाइ भए पनि सबैको प्रयत्नले सफलतापूर्वक सम्पन्न भएको बताए । उनले विमानस्थल निर्माणमा भूमिका निर्वाह गर्ने पूर्वप्रधानमन्त्री तथा पूर्वपर्यटनमन्त्रीलाई धन्यवाद दिए । उनले सबैको साथ र सहयोगका कारण विमानस्थल निर्माणको काम सम्पन्न भएको बताए ।
सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरबाहीले रोकिएको थियो । पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड–१९ महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकरुपमा सञ्चालनमा आएको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको प्राधिकिरणले जनाएको छ ।
अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने छ । चिनियाँ निर्माण कम्पनीद्वारा निर्मित यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भए लगत्तै आन्तरिक एयरलाइन्सले उडान गरिरहेका छन् । यहाँबाट निजी क्षेत्रको बुद्धएयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीले उडान भर्दै आएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३