श्रीमती हत्या अभियोगमा सफाइ पाएका सशस्त्र प्रहरीका पूर्व डिआईजी रञ्जन कोइराला सर्वोच्च अदालतले यसअघिको आफ्नै फैसला उल्ट्याएसँगै फरार भएका छन् ।
सर्वोच्चले बिहीबार रञ्जनलाई कैद सजाय घटाउने फैसला उल्ट्याएको थियो । योसँगै कोइरालाले साढे ११ वर्ष जेल बस्नुपर्ने छ । सर्वोच्चको अन्तिम फैसला आउनु केही समयअघिसम्म अदालतमै रहेका कोइराला त्यसपछि भने फरार भएका हुन् । सर्वोच्चले कैद सजाय घटाएपछि कोइराला जेलमुक्त भएका थिए ।
आफ्नो विपक्षमा फैसला आउने बुझेपछि कोइराला इजलासबाट बाहिरिएर मोबाइल स्वीच अफ गरेर अज्ञात स्थलतर्फ हिंडेको प्रहरीले जनाएको छ । सर्वोच्चले दोषी ठहर गर्दासमेत उनी बलियो सुरक्षा घेराबाटै गायब हुँदासमेत प्रहरी मुक दर्शक बन्नुलाई आश्चर्यका रुपमा हेरिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र तेजबहादुर केसीको इजलासले २०७७ असार १५ गते श्रीमती हत्या गरेको पुष्टि भए पनि कोइरालालाई मर्का परेको भन्दै कैद सजाय घटाउने फैसला गरेको थियो ।
उक्त फैसलाविरुद्ध महान्यायाधीवक्ता कार्यालयले पुनरावलोकनको निवेदन दिएको थियो । पुनरावलोकमाथि सुनुवाइ गर्दै कायममुकायम प्रधानन्यायाधीश दीपक कार्की तथा न्यायाधीशहरू टंकबहादुर मोक्तान र कुमार चुडालको इजलासले कैद साजाय घटाउने यसअघिको राय बदर गरेको हो । तत्कालीन पुनरावेदन अदालतले कोइरालालाई हत्या आरोपमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । सर्वोच्चको नयाँ फैसलासँगै पुनरावेदनको अघिल्लो फैसला आकर्षित हुने भएको छ ।
कोइरालाले साढे ८ वर्षअघि श्रीमती गीता ढकालको हत्या गरी सरकारी गाडीमा शव राखेर मकवानपुरको टिष्टुङ पुर्यााई पेट्रोल छर्केर जलाएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३