एमाले नेता घनश्याम भूसाल पार्टी कारबाहीमा पर्ने भएका छन् ।
अध्यक्ष केपी ओलीको आलोचना गरेको आरोपमा भूसालमाथि कारबाहीको तयारी भएको हो । पार्टी अनुशासन आयोगको बैठकले भूसालसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आयोग सचिवालयको बैठकले भूसालले अध्यक्ष ओलीको सार्वजनिक रुपमै आलोचना गरेको र पार्टी नीति विपरीतका काममा सक्रिय रहेको निस्कर्ष निकालेको छ । भूसालले ओलीको अहंकारका कारण पार्टीले एकपछि अर्को धक्का खानु परेको बताउँदै आएका छन् ।
ओलीकै कारण स्थानीय निर्वाचनमा पार्टी हारेको आरोप भूसालको छ । ओलीले भने केही दिनअघि पार्टीभित्रकै अन्तर्घातीहरुका कारण एमालेले स्थानीय निर्वाचनमा पराजय भोग्नुपरेको बताएका थिए । ‘घटश्यामजीले पार्टी अध्यक्ष केपी ओलीका बारेमा सार्वजनिक रुपमा आपत्तिजनक शब्दहरु बोल्नुभएको छ’, आयोग अध्यक्ष केशव बडालले भने, ‘उहाँलाई स्पष्टीकरण सोध्न पार्टीमा सिफारिस गरिएको छ ।’ एमालेका १० भाइ समूहका नेता भूसालले १०औं महाधिवेशनमा ओलीलाई चुनौती दिएका थिए ।
श्रोतका अनुसार ओलीकै निर्देशनमा बडालले बैठक डाकेर स्पष्टीकरण सोध्न सिफारिस गरेका हुन् । ओलीले भूसाललाई छिट्टै स्पष्टीकरणको निर्णय गराउने र प्रष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अनुशासनको कारबाही गर्ने तयारी गरेका हुन् । ओलीले भुसाललाई साधारण सदस्यबाटै हटाउने वा साधारण सदस्य राखेर बाँकी जिम्मेवारी खोस्ने मध्ये दुवै निर्णय गराउन सक्ने एक नेताले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३