रेष्टुरेन्ट, होटल, पेट्रोल पम्प, व्यापारिक भवनको शौचालय सर्वसाधारणलाई पनि प्रयोग गर्न दिने काठमाडौं महानगरपालिकाको अभियानमा विभिन्न क्षेत्रबाट समर्थन र सहयोग हुन थालेको छ । यसै क्रममा व्यावसायिक घराना ज्योति ग्रुपले पनि यस अभियानमा साथ दिएको छ । स्याकर ट्रेडिङ्ग कम्पनीका अध्यक्ष सौरभ ज्योतिले होण्डा स्वरुमहरुका शौचालय निःशुल्क प्रयोग गर्न सकिने घोषणा गरेका हुन् ।
देशभर रहेका होण्डा स्वरूमका १०७ शौचालय सर्वसाधारणले प्रयोग गर्न पाउने स्याकर ट्रेडिङ्ग कम्पनीका पद्म ज्योतिले जानकारी दिएका छन्। होन्डा शोरुमका काठमाडौंमा मात्र १६ वटा, पाटन र भक्तपुरमा २० वटा शौचालय प्रयोगमा आउने छन् । होण्डाले खुल्ला गरेको शौचालय महिला मैत्री हुने पनि उनले जानकारी दिए ।
मेयर शाहसँग सम्झौता गरेको तस्वीर सामाजिक सञ्जालमा राख्दै सौरभ ज्योतिले भनेका छन्, ‘परिवर्तन सुरु हुन्छ हामीबाट, त्यसैले एक स्वच्छ वातावरण निर्माण गर्ने पहलमा, अब देखि सबै होण्डा स्वरूमहरूमा निःशुल्क शौचालय उपलब्ध हुने घोषणा गर्न पाउँदा हामी गर्व गर्दछौं ।’
महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि निलो पृष्ठभूमिको संकेत चिन्ह पनि तयार पारिसकेको छ । सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिन्ह तयार पारेको हो ।
गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बीचभागमा सेतो रङ्मै महिला र पुरुषको चिन्ह रहेको छ । संकेत चिन्हको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७