बन्दुक पड्काएर मात्रै क्रान्ति नहुने बताउँदै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले परिस्थितिमा फड्को मार्दै क्रान्तिलाई बुझ्नुपर्नेमा जोड दिएका छन् । ललितपुरमा आयोजित सिद्धिलाल सिंहको जनअभिनन्दन समारोहलाई सम्वोधन गर्दै खनालले कम्युनिष्ट आन्दोलनमा नयाँ ढंगको बहस आरम्भ गर्न आग्रह गरे । ५ हजार वर्षअघि नेपालकै जनकपुरबाट सुरु भएको दर्शनले पनि बादे बादे जायते तत्वबोध भनेर बहसले नयाँ अवस्थाको निर्माण गर्न सिकाएको स्मरण गर्दै बहसको फोरम चलाउन आग्रह गरे ।
सामाजिक आर्थिक स्थितिमा परिवर्तन ल्याउन समाजवादी क्रान्तिको नयाँ रुपमा आइपुगेकाले अबको लक्ष्य वैज्ञानिक समाजवादको स्थापना बाहेक अरु हुन सक्दैन । त्यसका लागि सम्पूर्ण वामपन्थीहरु केन्द्रित हुनुपर्ने बताए । हिजो साझा टुंगोमा पुगिएकाले जनवादी क्रान्ति सम्पन्न भएकाले नयाँ ढंगले साझा विचार र सही विचार निर्माण गर्नु पर्दछ । खनालले सिद्धिलाललाई ५८ वर्षको जनवादी क्रान्तिको कालखण्ड र पछिल्लो समाजवादी क्रान्तिको अवधिको सक्रिय जुझारु योद्धाको रुपमा बुझ्न आग्रह गरे ।
कार्यक्रममा नेकपा मालेका महासचिव सीपी मैनालीले सिद्धिलालको जनपक्षीय राजनीति, क्रान्तिप्रतिको समर्पण र सरलताको प्रशंसा गर्दै कम्युनिष्ट आन्दोलन फुट र विभाजनमा गएकोमा चिन्ता लिनुभन्दा सही बाटोको बहस पर्याप्त नभएकोमा चिन्ता व्यक्त गरे । ००७ साल र ०४६ सालकै राजनीतिक परिवर्तनले विदेशीको हस्तक्षेप बढेको बताउँदै गणतन्त्र स्थापनापछि देश विदेशीको क्रिडास्थल भएको चिन्ता व्यक्त गरे ।
नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा उर्जामन्त्री पम्फा भुसालले समाजवाद स्थापनाका लागि इतिहासको सही मूल्यांकन सहित राजनीतिक परिवर्तनको सँस्थागत हुनुपर्नेमा जोड दिइन् ।
नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले अब पुरानो शैलीले फलानो समूह र अर्को समूह भनेर निर्माण गरिएका समूहबन्दी विचारले कम्युनिष्ट आन्दोलन पार नलाग्ने ठोकुवा गर्दै नेकपाकालीन शैलीको आम कम्युनिष्टको एउटै मञ्च निर्माण गर्नुपर्ने बताए ।
जनता समाजवादी पार्टीका नेता डा.पुष्पराज राजकर्णिकारले सिद्धिलाल सिंहको योगदान ललितपुरको किसान तथा श्रमजीवी वर्गको मुक्तिका लागि अमीट छाप राख्ने खालको भएको बताउँदै अहिलेको कम्युनिष्ट आन्दोलनमा सिद्धिलालको सरलता, इमान र निरन्तरताको पक्ष अनुकरणीय भएको बताए ।
सिद्धिलाल सिंह जनअभिनन्दन समारोह समितिका सँयोजक दिपेन्द्र श्रेष्ठले सिद्धिलालको योगदान नेपाली कम्युनिष्ट आन्दोलनको सिर्जनात्मक विकासका लागि अनुशरण योग्य भएको बताउँदै नयाँ ढंगको बहस सुरु गर्न पनि कम्युनिष्टहरु एउटै मञ्चमा उभिएको बताए ।
८८ वर्षीय सिद्धिलाल सिंहले ००९ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिई दोश्रो महाधिवेसनदेखि निरन्तर केन्द्रीय नेतृत्वमा रही ०७१ असारबाट सक्रिय राजनीतिबाट विदा लिएको बताउँदै बामशक्तिहरुको साझा मञ्चमा अभिनन्दन गरिएको अभिनन्दन समितिका सचिव तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अमृत तिमल्सिनाले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३