सभामुख अग्निप्रसाद सापकोटाले बजेट निर्माणका बेला अनाधीकृत व्यक्ति मन्त्रालयमा बोलाएर करका दर परिवर्तन गर्न लगाएको आरोप खेपेका अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन समिति गठनका लागि सरकारलाई रुलिङ गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
सापकोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर अर्थमन्त्रीमाथि उठेका प्रश्नमा छानबिन समिति बनाउन रुलिङ गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।
सभामुखको सचिवालय श्रोतका अनुसार संसदमा प्रमुख प्रतिपक्षले पटकपटक सो विषय उठान गरेकाले आफू दबाबमा परेको प्रचण्डलाई बताएका थिए । ‘प्रमुख प्रतिपक्षीले यो विषय लगातार उठाएको छ’, सभामुखको भनाइ उद्धृत गर्दै श्रोतले भन्यो, ‘म धेरै दबाब थेग्न नसक्ने अवस्थामा छु । कि तपाईंहरु उपयुक्त निर्णय गर्नुस् । कि म समिति गठनका लागि रुलिङ गर्छु ।’
जवाफमा प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासहित बसेर छलफल गर्ने बताएका छन् । आफ्नै निवास खुमलटारमा मंगलबार बसेको पूर्वस्थायी समिति सदस्यहरुको बैठकमा प्रचण्डले अर्थमन्त्रीबारे प्रधानमन्त्री र सभामुखसँग छलफल गरेर निकास दिने बताएका थिए । बजेट भाषणको अघिल्लो रात अर्थ मन्त्रालयकै पूर्वनायब सुब्बा र एक भारतीय नागरिक मन्त्रालयमै गएर करको दर परिवर्तन गरेको समाचार आएपछि अर्थमन्त्री शर्मा विवादमा तानिँदै आएका छन् ।
एमालेले अर्थमन्त्रीले गम्भीर वित्तिय अपराध गरेको भन्दै शर्माले जवाफ दिने समय र बजेट पारित गर्ने समयमा संसद बैठक बहिस्कार गरेको थियो । एमालेले जेठ १४ गते रातिको सीसीभिटी फुटेज सार्वजनिक गर्न माग गर्दै आएको छ । अर्थमन्त्री शर्माले भने बजेट निर्माणमा विज्ञहरुको सहयोग लिने परम्परा रहेको भन्दै अनाधिकृत चलखेल नभएको दाबी गर्दै आएका छन् ।
उपभोक्ता हित संरक्षण मञ्चले सूचनाको हक प्रयोग गरी सीसीटिभी फुटेज मागेकामा अर्थमन्त्रालयले १३ दिनपछिको भिडियो आफैं हटेर जाने भएकाले दिन नसकिने लिखित जवाफ दिएपछि सो विषयले थप चर्चा पाएको छ । जबकि सीसीटिभी राख्ने अनुमति दिँदा कम्तिमा तीन महिनाको फुटेज राख्नुपर्ने कार्यविधि गृह मन्त्रालयको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३