प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीका लागि हतियार किन्नेबारे कुनै निर्णय नभएको दाबी गरेका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठकमा देउवाले हतियार किन्ने निर्णय नभएको र भविष्यमा पनि तत्काल किन्ने योजना नभएको बताए । केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले मुलुकमा विदेशी मुद्राको सञ्चिती घटेका बेला हतियार किन्न नहुने भन्दै आपत्ति जनाएका थिए । श्रेष्ठ बोल्दाबोल्दै बीचैमा रोकेर देउवाले हुँदै नभएको विषयमा जथाभावी नबोल्न चेतावनी दिए । ‘तपाईं जे पायो त्यही बोल्ने ? हतियार किन्ने निर्णय सरकारले कहाँ गरेको छ ?’, भन्दै प्रतिप्रश्न गरे ।
अर्थतन्त्र संकटोन्मुख रहेका बेला सरकारले नेपाल प्रहरीका लागि हतियार तथा भिड नियन्त्रण सामग्री खरिदका लागि आर्थिक वर्षको अन्तिममा हतारहतार ८४ करोड रुपैयाँ रकमान्तर गरेको समाचार सञ्चार माध्यममा आएपछि त्यसलाई लिएर सरकारको चौतर्फी आलोचना भइरहेको छ ।
बैठकमा नेता अर्जुननरसिंह केसीले पनि हतियार खरिद मुलुकका अहिलेको प्राथमिकता नभएको भन्दै निर्णयबाट पछि हट्न सरकारलाई आग्रह गरेका थिए । केसी बोल्दा भने देउवा चुपचाप बसेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७