राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन गर्दैछ ।
बोर्डको मंगलबार बसेको बैठकले आज नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो । बोर्ड अध्यक्ष महाश्रम शर्माले नजिता प्रकाशनको प्राविधिक तयारीको काम सकिएको जानकारी दिए । नतिजा प्रकाशनअघि बोर्ड बैठक बस्ने उनले बताए । गत वैशाख ८ गतेदेखि सञ्चालित एसइई परीक्षामा देशभरबाट ४ लाख ९४ हजार ६ सय ८१ विद्यार्थीले परीक्षा दिएका थिए ।
परीक्षामा न्यूनतम ३५ अंक नल्याउने परीक्षार्थीको मूल्याङ्कन नगरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने परीक्षार्थीलाई अमूल्याङ्कनमा राख्ने निर्णय गरेको थियो । केन्द्रले निर्देशिकामार्फत कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई ३५ अङ्क नल्याए अनुत्तीर्ण हुने नयाँ व्यवस्था अघि सारेको हो ।
कुनै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउने परीक्षार्थीको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । कुनै एक विषयमा पनि नन ग्रेडेड परीक्षार्थीले मूल प्रमाणपत्र पाउने छैनन् । मूल प्रमाणपत्र नपाएसम्म उनीहरुले कक्षा ११ मा भर्ना हुन पाउने छैनन् । मूल प्रमाणपत्र पाउन नसक्ने परीक्षार्थी तीन पटकसम्म कम्तीमा दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन सक्नेछन् । ग्रेड वृद्धि परीक्षमामा पनि असफल भए त्यस्ता विद्यार्थीले अर्को वर्ष सबै विषयका परीक्षा दिनुपर्नेछ ।
कसरी हेर्न सकिन्छ नतिजा ?
बोर्डले वेबसाइट, एसएमएस र आइभीआरबाट एसर्ईई नतिजा हेर्न सकिन्छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार www.see.gov.np www.neb.gov.np, www.khalti.com, www.neemaacademy.com, www.ekantipur.com,www.theonnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np, र www.admissionepal.com मा गएर नतिजा हेर्न सकिनेछ ।
यस्तै ३५००१, ३४९४९, ३१००३ र १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिन्छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३