विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आज बाट शुरु भएको छ । नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ ।
नेवा: समुदायका बौद्ध मार्गी परिवारमा यस पर्वको उल्लास अझ बढी आत्मिक अनि चिन्तनगत रूपमा रहेको पाइन्छ, भगवान् बुद्ध अनि वहाँका अनुयायीहरू दिव्य प्रवचन अनि ज्ञानको प्रचारमा जाँदा बर्खाका समयमा यात्रा नगरी एकै ठाउँमा बस्ने भएकाले यस पर्वलाई बर्खा अनि ज्ञानको एउटा सङ्गम पनि मानिने गरिन्छ । विशेष गरी नेवार समुदायले मनाउने गुँला पर्वमा बिहान स्वयम्भू भगवानको दर्शन गर्न जाने परम्परा रहिआएको छ ।
यस पर्वमा बहीद्यः स्वःवनेगु नेवा: सस्कृतीको अनन्य पाटो हो जहाँ अघिअघि बाजा अनि सङ्गीत अनि पछि पछि भक्तजनहरू हुन्छन्, आजका दिनमा यस्ता झाँकीहरू प्रशस्तै देख्न सकिन्छ, काठमाडौँ उपत्यकामा । द्यः थायेगु आजको विशेष क्रियाकलापमा पर्दछ, आज कालो माटोलाई प्रयोग गरेर कालो काँचो माटोले ससाना स्तुपा बनाउने चलन रहन्छ । काठमाडौँ र ललितपुरमा पन्जारा अर्थात् बुद्ध लगायत अन्य साधु सन्तको प्रतिमा अनि भगवानको प्रतिनिधित्व गर्ने खटलाई सहरमा घुमाउने अनि चामल लगायतका बस्तु जम्मा गर्ने चलन पनि छ । बौद्ध मार्ग एउटा सन्तुलनको वकालत गर्ने दर्शन हो जहाँ दान अनि शान्ति लगायत आत्मिक चिन्तनलाई धेरै महत्त्व दिने गरिन्छ ।
गुँला पर्वको प्रमुख विशेषता न्याकुँ बाजा हो । यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ । पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ । जसअनुसार धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी देवताको समेत परिक्रमा गर्ने प्रचलन बढेको पाइन्छ । साथै बौद्ध धर्मावलम्बी बाहेकका समुदायसमेत गुँला पर्वको अवसरमा चैत्यहरूको परिक्रमा गर्न जान थालेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३