नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेताहरुमाथि पक्राउ पुर्जी जारी भएको घटनाप्रति आपत्ति जनाएको छ ।
प्रवक्ता खड्गबहादुर विकले सोमबार विज्ञप्तिमार्फत आफूहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रति क्रुद्ध प्रतिक्रिया दिएका छन् । उनले आफूहरु पनि हातमा दही जमाएर नबस्ने चेतावनी दिए ।
विकले तत्कालीन प्रधानमन्त्री केपी ओलीसँगको तीन बुँदे सहमति विपरीत पक्राउ पुर्जी जारी गरिएको बताए । तीन बुँदे उक्त सहमतिमा विभिन्न जेलमा रहेका नेता कार्यकर्ताको रिहाई गर्ने उल्लेख भएकामा अदालतले नेताहरूविरूद्ध पक्राउ पुर्जी जारी गर्नुलाई षडयन्त्रको संज्ञा विप्लव नेकपाले दिएको छ ।
देश र जनताकालाई संघर्ष गरिरहेको आफ्नो पार्टी र नेतृत्वविरूद्ध गरिएको षडयन्त्रले अन्ततः अमेरिकी साम्राज्यवादी हस्तक्षेप, दलाल पुँजीपति तथा सामाजिक दलाल पुँजीपतिको आत्मसमर्पण र जनविरोधी चरित्रलाई मलजल पुर्याएको आरोप विज्ञप्तिमा लगाइएको छ ।
विकले तीन बुँदे सहमति तदरूकतासाथ पालना नभए आफूहरू पनि हातमा दही जमाएर नबस्ने चेतावनी दिए । ‘यसबाट निम्तिने गम्भीर अवस्थाको जिम्मेवार सरकार र राज्यका अधिकारी हुनुपर्नेछ,’ विज्ञप्तिमा छ ।
ललितपुर जिल्ला अदालतले सोमबार महासचिव विप्लव प्रवक्ता विक, सो पार्टी छाडिसकेका हेमन्तप्रकाश वली, मोहनबहादुर कार्की लगायतविरुद्ध कर्तव्य ज्यान, हातहतियार तथा खरखजाना, राज्य विरुद्धको अपराधसहितका मुद्धामा बेपत्ते म्याद तामेल भएको भन्दै २५ दिनभित्र हाजिर हुन पक्राउ पुर्जी जारी गरेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७