नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा ‘टिकट पाइँन’ भनेर असन्तुष्ट नहुन पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । सिंगो पार्टी एकताबद्ध भएर लाग्ने हो भने आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि निर्वाचन क्षेत्रमा आफ्नो पार्टीले हार्ने स्थिति नरहेको जिकिर गर्दै अध्यक्ष ओलीले त्यसका लागि एकजुट भएर निर्वाचनको काममा केन्द्रित हुन सिंगो पार्टी पंक्तिलाई सचेत गराएका छन् ।
पार्टी पंक्ति एकजुट भएर निर्वाचनमा नजाने हो भने त्यसले आगामी निर्वाचनमा पार्टीलाई ठूलो घाटा बनाउने उनको भनाइ थियो । नेकपा (एमाले) पर्सा जिल्ला कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले उम्मेदवार हुनेले जित्नका लागि काम गर्ने र उम्मेदवार नपाउनेले जिताउनका लागि लागेमात्रै पार्टीको हित हुने पनि पटकपटक दोहो¥याए ।
उम्मेदवार नपाउनेहरु असन्तुष्ट भए त्यसले पार्टीलाई ठूलो घाटामा पु¥याउने उल्लेख गर्दै उनले उम्मेदवार नपाएहरुलाई पार्टीले सरकार बनाए, बहुमत ल्याए काम गर्नका लागि थुप्र्रै ठाउँहरु हुने पनि स्पष्ट पारे । ओलीले पार्टीका कुनै पनि नेता, कार्यकर्ताले विरोधीले उकासेको भरमा अधैर्यता राख्ने काम गर्न नहुने बताए ।
उनले आगामी निर्वाचनमा मतदाताको संख्या बढाउने र मतको रक्षा गर्ने काममा एमाले केन्द्रित हुनुपर्ने पनि बताए । अध्यक्ष ओलीले भने, ‘अहिले हाम्रो विरुद्ध सम्पूर्ण विरोधीहरु एकजुट भएर लागिराख्या छन् । यस्तो अवस्थामा उनीहरुले हाम्रो विरुद्धमा भ्रम फिजाउन खोजिरहेका छन् । हाम्रा विरुद्ध फाटो ल्याउन खोज्छन् । हाम्रा विरुद्ध मानिसहरुलाई उचाल्न खोज्छन् । कोही पनि साथीहरु पार्टीको विरुद्ध उचालिनु, अधैर्यता राख्नु हुँदैन ।’
उनले थपे, ‘एउटा निर्वाचन क्षेत्रमा एक जना उम्मेदवार हुन्छ । प्रदेश क्षेत्र पनि १/१ जना उम्मेदवार हुन्छ । त्यत्तिनै हो उम्मेदवार हुने । जो उम्मेदवार हुन्छ, उम्मेदवार हुने साथी जित्नका लागि काम गर्नुस् । जो उम्मेदवार हुनुहुन्न, उम्मेदवार नभएका साथी जिताउनका लागि काम गर्नुस् । उम्मेदवार पाइन भनेर असन्तुष्ट हुने हो भने एक जनाले उम्मेदवारी पाउँछ, बाँकी अरु त असन्तुष्ट हुने भए । त्यसकारण उम्मेदवार नपाएर असन्तुष्ट हुने काम, त्यसले हामीलाई ठूलो घाटा पु¥याउँछ । हामीले जित्यौ भने, सरकार बनायौं भने थुप्र्रै ठाउँहरु निस्कन्छन् । हामी एकजुट भयौं भने हामी जहाँ पनि जित्न सक्छौं । एकजुट भएन जित्नसक्ने हो । जति एकजुट छौं, त्यत्ति बलियो छौ ।’
उनले फेरि भने, ‘जति विभाजित हुन्छौं, त्यति कमजोर हुन्छौं । त्यसकारण एकजुट हुनुपर्छ । एकजुट भयौं भने तराई मधेशका कुनै पनि क्षेत्रमा एमालेले नजित्ने खालको क्षेत्र छैन । तर त्यहाँ हाम्रो भित्र पनि समस्या छ । अब निर्वाचन आउँदैछ । यसमा अनेक प्रकारणका हत्कण्डा उनीहरुले प्रयोग गर्न सक्छन् । हामीले ती सबै हत्कण्डालाई पराजित गर्नेगरी मतदाता संख्या बढाउने र मत रक्षा गर्ने । यो दुईटा कुरामा ध्यान दिनुस् । महिला दिदीबहिनीहरुमा अघि सघन ढंगले काम लगाउनुस् । आजको प्रवेश हेर्दा पुरुषमा अघि बढी काम भएको देखिन्छ, महिलामा अलि कम काम भएको हो कि भन्ने देखिन्छ । महिलाहरुमा काम लिएर जानुहोस् । राजनीति महिलाहरुमा लिएर जानुहोस् । अनि बल्ल समाज जाग्छ ।’
अध्यक्ष दाहालले थप भने, ‘त्यसकारण म साथीहरुलाई आग्रह गर्न चाहन्छु–युवाहरुमा काम लिएर जानुस् । आज पनि थोरै मात्रै युवाहरु प्रवेश गर्नु भएको छ । ती युवाहरुलाई प्रवेश गराउनेतिर जानुस् । र, टोलटोलमा संगठन, घरघरमा सदस्य अखिल नेपाल महिला संघले यो गर्नुपर्छ । युवा संघले त्यो गर्नु पर्दछ । किसान संघले त्यो गर्नु पर्दछ । र, अरु विभिन्न संगठनले पनि जहाँजहाँ हुन सक्दछ, टोलटोलमा संगठन, घरघरमा सदस्य त्यो अभियान हामीले जान सक्यौ भने मात्रै काम हुन सक्छ । माथिमाथि हामीले कुरा ग¥यौं तर तल जनताको बीचमा, आम जनताको बीचमा गएनौं भने, हामी अनावश्यक कुरामा कन्सस भयौं भने, केही पनि फुत्किदैन काम ग¥यौं भने । मजाले काम गर्नुपर्छ । यदि हामीले दम्भ देखायौं भने, घमण्ड ग¥यौं भने त्यसले राम्रो गर्दैन । त्यसकारण म साथीहरुलाई आग्रह गर्न चाहन्छु–एमाले अव अत्यन्त सक्रिय हुनुपर्छ ।’
अध्यक्ष ओलीले तराई, मधेशमा देखिएका नागरिकताको समस्या समाधान गर्ने काम एमालेले मात्रै गर्न सक्ने दाबी गरे । अरुले मधेशमा त्यहाँका जनताको समस्या समाधान होइन, राजनीति मात्रै गरिरहेको उनको आरोप थियो । ओलीले २०५१ सालमा आफूले गृहमन्त्री भएको बेला नागरिकता समस्या समाधानका लागि धनपति आयोग बनाएको र पछि प्रधानमन्त्री हुँदा ती समस्या समाधानका लागि ल्याइएको विधेयक तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल आफैंले अघि बढन नदिएको गुनासो समेत गरे ।
उनले विवाहित अंगीकृत नागरिकता पाउनका लागि केही समय कुर्नुपर्ने भन्दै त्यसलाई हतारोको विषय बनाउन नहुने बताए । अध्यक्ष ओलीले भने, ‘नागरिकता सम्बन्धि ५१ सालमा म गृहमन्त्री हुँदा धनपति उपाध्यायको नेतृत्वमा आयोग बनाएर समस्या समाधान कसरी गर्ने भनेर गरेका थियौं । मैले प्रधानमन्त्री हुनेवित्तिकै यसपल्ट नागरिकता विधेयक पेश गरेको थिए । एकै पार्टी भएपनि प्रचण्डले त्यसलाई रोकेको रोक्यै गरेर अहिले बडा बेढंगी तालले, गलत ढंगले छलफल गर्न नदिईकन उनीहरुले अगाडि बढाएका छन । त्यो देशको हितको पक्षमा हुनुपर्छ, जनताको हितको पक्षमा हुनुपर्छ । नेपाली नागरिकले नागरिकताको प्रमाण पत्र पाउनुपर्छ ।’
उनले थपे, ‘नागरिकका सन्तानले नागरिकताको प्रमाणपत्र पाउनुपर्छ । नागरिकताको समस्या त्यही त हो नि । वैवाहिक अंगीकृतले आवश्यक समय पूरा गरेपछि नागरिकता प्राप्छ गर्छ । त्यो त जग्गेमै त दिने होइन त । अलिकति समय हेर्नुप¥यो । त्यो विवाह साँच्चै हो कि होइन । टिक्छ कि टिक्दैन । नेपालमा विवाह गरिसकेपछि अंशमा अधिकार हुन्छ । अश पाउन मात्रै विवाह गरि टोपलेको छ कि । यस्ता कुराहरु अलिकति हेर्नुपर्छ । कहिलेकहिले नागरिकहरुलाई कसैले झुक्याउन खोज्यो भने पनि राज्यले हेर्नुपर्छ कहीँ ठग्न पो खोजेको छ कि ? त्यस्ता कुराहरुबाट हामी सजग हुनुपर्छ ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३